बुधबार यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, ५ असोज । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल ओडिसा र पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।
अहिले देशको बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ । बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली भइ एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाले जारी गरेको तीन दिने मौसमी बुलेटिनअनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ:
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले उक्त क्षेत्रहरुमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।