काठमाडौंको गोठाटारमा गोली प्रहार गरी व्यापारीको हत्या
काठमाडौं, ४ असोज । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ गोली चलेको छ । गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद एक कारबाट निस्कने बित्तिकै उनीमाथि गोली प्रहार भएको सिसिटिभी फुटेजमा देखिएको छ ।
टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेका उनको त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
रातो टिर्सट र जिन्स लगाएको र मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली हानेको देखिएको छ । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।