काठमाडौंबाट जसपा आउट
काठमाडौं, ३ असोज । सत्ता गठबन्धनको चौथो घटक जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभाको सिट बाँडफाँडमा काठमाडौं उपत्यकाबाट आउट हुने भएको छ ।
यसअघि जसपा नेता राजेन्द्र श्रेष्ठले पाउने भनिएको काठमाडौं-७ नेकपा माओवादी केन्द्रको पहलमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पाउने भएको छ । सो क्षेत्रबाट भट्टराई पुत्री मानुषी यमी भट्टराई चुनाव लड्ने छिन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं–७ मा मानुषी यमी भट्टराईलाई उठाउने तयारी गरेको र त्यसमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी समेत सकारात्मक भएको बुझिएको छ ।
पछिल्लो समय प्रचण्ड र बाबुरामबीच सम्बन्ध सुमधुर भएको छ । गत साता बाबुराम निबासमा प्रचण्डको डिनर मिटिङ समेत भएको थियो । सो डिनर मिटिङमा प्रचण्ड र बाबुरामबीच २ घन्टा कुराकानी भएको थियो ।
साथै बाबुरामका नाति युगिन(जो मानुषिका छोरा) लाई प्रचण्डले काखमा लिएर तस्वीर समेत खिचाएका थिए ।