महिला साफ च्याम्पियन बन्ने नेपालको सपना अधुरै, बङ्गलादेशले रच्यो इतिहास
काठमाडौं, ३ असोज । महिला साफ च्याम्पियनसिपको उपाधि जितेर इतिहास रच्ने नेपालको दाउमा पुनः एकपटक धक्का लागेको छ । यसअघिका चार फाइनलमा भारतसँग पराजित हुँदै उपाधि जित्नबाट वञ्चित नेपालको यस संस्करणको यात्रामा भने बङ्गलादेश बाधक बन्यो ।
सोमबार दशरथ रङ्गशालामा सम्पन्न छैटौं संस्करणको फाइनल खेलमा बङ्गलादेशले भने नेपालमाथि ३-१ को जीत निकाल्दै इतिहास बनाएको छ । पहिलोपटक साफ च्याम्पिनसिपको उपाधि जितेर बङ्गलादेशले इतिहासमा नाम लेखेको हो ।
घरेलु टोलीलाई स्तब्ध पार्न बङ्गलादेशकी कृष्णारानी सरकारले २ गोल गरिन् भने सम्सुनाहारले एक गोल गरिन् । नेपालकी अनिता बस्नेतले गरेको गोल सान्त्वना बन्यो ।
खेलको दशौं मिनेटमा मोसमत सोप्नाको स्थानमा मैदान प्रवेश गरेकी सम्सुनाहारले मैदान छिरेको ३ मिनेटमै गोल गरिन् । गोल फर्काउने प्रयासमा रहेको नेपालले पहिलो हाफमै अर्को गोल व्यहोर्यो ।
४१ औं मिनेटमा अग्रता दोब्बर पार्ने क्रममा बङ्गलादेशकी कृष्णारानीले वान भर्सेस वानमा गोल गरिन् । पहिलो हाफमै २-० ले पछाडि परेपछि दर्शकदीर्घामा निराशा छाएको थियो ।
दोस्रो हाफको ७०औं मिनेटमा अनिताले गोल गर्दै नेपालको आशा जगाइन् । तर ७७ औं मिनेटमा कृष्णारानीले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्गलादेशको ३-१ को जीत पक्का गरिन् ।