आर्मीलाई चितवन गोल्डकप फुटबलको उपाधि
प्रतिक भट्टचितवन, ३ असोज । नेपाल आर्मी क्लबले चितवनको भरतपुरमा जारी इसुजु चितवन गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा एपिएफ क्लबलाई २-० गोलअन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो ।
आर्मीको जीतमा दुवै गोल सुदिल राईले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ सुरु भएको तीन मिनेटमा जर्जप्रिन्स कार्कीको एसिस्टमा सुदिलले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।
गोल फर्काउन प्रयासरत एपिएफले केही अवसरहरु पाए पनि गोल भने गर्न सकेन । दोस्रो हाफको ३८औं मिनेटमा सुदिलले अर्को गोल थपे । उनले बाँया खुट्टाले प्रहार गरेको बल डिफ्लेक्ट भएर गोल हुँदा विपक्षी गोलरक्षक राजु नगरकोटी झुक्किन पुगेका थिए ।
त्यसपछि थप गोल भएनन् र आर्मी २-० ले विजयी रह्यो । खेलको म्यान अफ दि म्याच आर्मीका सुदिल नै घोषित भए । आर्मीले २४ घण्टाभन्दा कम समयको अन्तरमा सेमिफाइनल र फाइनल खेलेको थियो ।
खेलपछि कुरा गर्दै आर्मीका प्रशिक्षक राजु तामाङले खेलाडीहरुले २४ घण्टामा दुई खेल खेल्दा पनि उत्कृष्ट प्रदर्शन गर्न सकेको बताए । ‘आराम नपुग्दा पनि खेलाडीहरुको अथक मिहिनेतले गर्दा आज हामी उपाधि जित्न सफल भएका छौं’, तामाङले भने ।
जीतसँगै आर्मीले सात लाख रुपैयाँ नगद र ट्रफी हात पार्न सफल भयो भने उपविजेतामा सीमित एपिएफले ३ लाख ५० हजार र ट्रफी हात पार्यो ।