महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौं, ३ असोज । काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने छ ।

बङ्गलादेश दोस्रोपटक फाइनल खेल्न लागेको हो भने नेपालको यो पाँचौं फाइनल हो । पाँचपटक फाइनल पुगेपनि नेपालले उपाधि भने जित्न सकेको छैन । पाँचैपटक नेपाल भारतसँग पराजित भएर उपाधिबाट वञ्चित भएको थियो

तर यसपटक भारतको चूनौति नेपालले सेमिफाइनलमै पार गर्यो । १-० ले भारतलाई पाखा लगाउँदै नेपाल उपाधि भिडन्तमा पुनः एकपटक स्थान सुरक्षित गर्न सफल भयो ।
बङ्गलादेशले पनि समूह चरणमा भारतलाई हराएको थियो । बङ्गलादेश पनि पछिल्लो समय उत्कृष्ट लयमा रहेको छ । त्यसैकारण फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ ।
घरेलु मैदानमा जीत निकाल्दै पहिलोपटक महिला साफको उपाधि जितेर इतिहास रच्ने अवसर नेपाललाई रहेको छ ।
फाइनल खेल साँझ ५ बजेपछि दशरथ रङ्गशालामा हुने छ ।