एभिनुरलाई हराउँदै आर्मी चितवन गोल्डकपको फाइनलमा
प्रतिक भट्टचितवन, २ असोज । नेपाल आर्मी क्लब चितवनको भरतपुरमा जारी इसुजु चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनलमा क्यामरुनी क्लब एभिनुर एफसीलाई २-० गोलअन्तरले हराउँदै आर्मी उपाधिनजिक पुगेको हो ।

आर्मीको जीतमा जर्जप्रिन्स कार्की र सन्तोष केसीले १-१ गोल गरे । आर्मीले दुवै हाफमा एक एक गोल गरेको थियो । एभिनुरले केही अवसरहरु प्राप्त गरेपनि फिनिसिङ गर्न नसक्दा गोल गर्न सकेन ।

खेलको पहिलो हाफमा जर्जप्रिन्सले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै पोस्टको जाली चुमेको थियो । दोस्रो हाफको अन्त्यतिर जर्जप्रिन्सकै एसिस्टमा सन्तोषले गोल गर्दै आर्मीको जीत पक्का गरे । खेलको म्यान अफ द म्याच आर्मीका विमल पाण्डे घोषित भए ।
खेलपछि कुरा गर्दै आर्मीका प्रशिक्षक राजु तामाङले आजको खेलमा केही फिजिकल प्रेसर परेको र भोलिको खेलमा अझै मिहिनेत गर्नुपर्ने कुरा बताएका छन् ।
यस जीतसँगै आर्मीले अर्को विभागीय टोली एपिएफ क्लबसँगको भेट पक्का गरेको छ । फाइनल खेल सोमबार हुनेछ ।
गोल्डकपको विजेताले सात लाख रुपैयाँ नगद प्राप्त गर्ने छ भने उपविजेताले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छ ।