चुनावी खर्च बुझाउन नसकेको कि नखोजेको ? बालेन, रेणु, धनराजलाई जरिवाना

काठमाडौं, २ असोज । चुनाव जितेर १०० दिनको काम देखाइसकेका महानगरका मेयरले चुनावमा भएको खर्च सार्वजनिक गर्न नसक्नु र सोही कारण जरिवाना बुझाउनु कति जायज होला ?

अझै जनताले आशा गरेर जिताएका जनप्रतिनिधिले आफैंले कति खर्च गरे भनेर हिसाब देखाउन नसक्नुको कारण के हुनसक्छ ? के उनीहरुको खर्च पारदर्शी छैन वा खर्च गरिएको शीर्षक नै देखाउन नसकिने गरि भद्रगोल थियो ? यस्ता प्रश्‍न जनताको मनमा उब्जिएको छ ।

चुनावी खर्च विवरण समयमा नबुझाएपछि काठमाडौं, पोखरा, विराटनगर, चितवन र वीरगन्ज महानगरपालिकाका मेयरले निर्वाचन आयोगलाई साढे सात लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । देशका ६ महानगरमध्ये ललितपुरका मेयर चिरिबाबु महर्जनले मात्रै समयमा खर्च विवरण बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौंका मेयर बालेन्द्र शाह, पोखराका मेयर धनराज आचार्य, चितवनकी मेयर रेणु दाहाल, विराटनगरका मेयर नागेश कोइराला र वीरगन्जका मेयर राजेशमान सिंहलाई निर्वाचन आयोगले साढे सात लाख जरिवाना तोकेको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

थपलियाका अनुसार जरिवाना तिर्ने सूचीमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई पनि परेका छन् । उनले साढे पाँच लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ । चुनावी परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम उल्लंघन गरेको भन्दै आयोगले ती जनप्रतिनिधिलाई जरिवाना तोकेको हो।

आयोगका अनुसार हालसम्म १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारवाही गर्ने निर्णय भएको छ । निर्वाचनको खर्च विवरण बुझाउन पटक-पटक ताकेता गर्दा समेत बेवास्ता गरेपछि कानुन बमोजिम आयोगले यो निर्णय लिएको हो ।

६ महिनामित्र जरिवाना रकम नतिरेमा उनीहरुको पद स्वतः खारेज हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय