अछाममा पहिरोमा परी दर्जनबढीको मृत्यु
अछाम, १ असोज । अछामको विभिन्न भागमा पहिरो जाँदा हालसम्म १४ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता रहेका छन् । त्यसैगरी ११ जना घाइतेको उद्दार गरिएको छ ।
लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार गएरातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौजना बेपत्ता भएकामा दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । वर्षाका कारण उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।
त्यसैगरी यहाँको कमलबजार नगरपालिकामा पहिरो गएर घर पुरिँदा सात जनाको मृत्यु भएको छ । ठाँटीखाँदका सातैजना घरको माथिबाट खसेको पहिरोमा पुरिएकामा सबैको शव फेला पारिएको छ । पहिरोमा परी अन्य आठ जना घाइते भएका भएकामा चार जनाको अवस्था जटिल छ ।
त्यसैगरी पहिरोकै कारण ढकारी गाउँपालिकामा एक घर पुरिँदा तीन जना घाइते भएका छन् । अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली विहानैदेखि उद्धारमा खटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाङीले यहाँका अन्य ठाउँमा पनि पहिरोले घर पुरिएर क्षति भएको खबर आएकाले प्रहरीको टोली परिचालन गरिएको जानकारी दिए ।