धादिङकी कल्पनाले छाडिन् काँग्रेस

काठमाडौं, १ असोज । नेपाली काँग्रेसकी युवा नेतृ कल्पना अधिकारीले पार्टी परित्याग गरेकी छिन् । उनी नेपाल ट्रेड युनियन काँग्रेसको केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

गएको स्थानीय निर्वाचनमा धादिङको निलकण्ठ नगरपालिका उपमेयरको उम्मेदवार समेत रहेकी अधिकारी धादिङ काँग्रेसमा प्रभावशाली युवा नेतृ हुन् । उनले नेपाली काङ्ग्रेस परित्याग गरेसँगै नेपाली काँग्रेस बिपी प्रवेश गरेकी छिन् । उनलाई सो पार्टीले केन्द्रिय सदस्य सहित धादिङ जिल्ला सभापतिको जिम्मेवारी दिएको छ ।

अधिकारीले नेपाली काँग्रेस पछिल्लो समय पार्टीको नीति सिद्धान्तलाई छाडेर अरुको भर्‍याङ बन्‍न पुगेकाले बिपीको आदर्श विचारलाई जोगाई राख्‍न नेपाली काँग्रेस बिपीमा जोडिएको बताइन् । उनले केही दिनमै जिल्लामा बृहत भेलाको आयोजना गरी पार्टीको जिल्ला कार्यसमिति र अन्य संरचनाको घोषणा गर्ने जानकारी दिइन् ।

नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि तथा ट्रेड युनियन काँग्रेसको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अधिकारीले चुनावकै मुखमा पार्टी छाडेपछि काँग्रेसलाई धक्का लागेको छ ।

उनीसँगै नेपाली काँग्रेस धादिङको क्षेत्र नम्बर १ प्रदेश (ख) का सचिव बलबहादुर इटनीले पनि काँग्रेस छाडेर राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेका छन् ।

इटनी पनि सो पार्टीको केन्द्रिय सदस्य भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय