आमाहरुको नेचुरल ‘अचार’ !
देवी पोखरेलनेपाल एक कृषिप्रधान देश । यहाँका हरेक बनस्पति र जडिबुटी मात्रै होइन दैनिक उपभोग गर्ने तरकारी, अचार र फलफुल पनि अर्गानिक भेटिन्छ । तर, हामी आफ्नो अर्गानिक स्वाद छोडेर विदेशी उत्पादनलाई रोज्ने गर्दछौं । सरकारले समेत स्वदेशी उत्पादनलाई भन्दा विदेशबाट ल्याइएको वस्तुलाई सहुलियत दिइरहेको देखिन्छ ।
विदेशबाट आयात गरिएका वस्तुको गुणस्तर कस्तो र खान योग्य हो होइन समेत नहेरी हामिले प्रयोग गर्दछौं । यसले कहिलेकाँही हाम्रो स्वास्थमा समेत असर पुर्याउने गरेको छ । तर, स्वदेशमा उत्पादन भएका र हाम्रै आमा, दिदिबहिनीले आफ्नै हातले बनाएका शतप्रतिशत खान योग्य वस्तुलाई कम महत्त्व दिने गरेका छौं । तर, सरकारले गरेको बेवास्ता र विदेशी आयातलाई समेत चुनौती दिन खोज्दैछन् काठमाडौं गोकर्णेश्वर-६ का आमाहरूले ।
गोकर्णेश्वर नगरपालिकाको सानो सहयोगमा एक वर्ष अगाडी यहाँको लघु उद्धमी महिला समुहले उत्पादन सुरु गरेको नेचुरल स्वादिलो अचार अहिले चर्चामा छ । अचारको ब्रान्ड नाम नै ‘नेचुरल स्वादिलो अचार’ राखेका उनीहरुले हाम्रै टोल छिमेक र गाउँमा पाइने मुला, आँप, मेथी, कागती, खुर्सानीलगायतको अचार उत्पादन र विक्री गरेका छन् । उनीहरुले विशेषगरी फुर्सदको समय र बिदाको दिन शनिबार पारेर अचार उत्पादन र प्याकेजिङ गर्दै आएका छन् ।
गोकर्णेश्वर नयाँबस्ती वडा नम्बर ५ र ६ अनि काठमाडौं महानगरपालिका- ६ नम्बर वडाभित्र मात्रै बिक्री गर्दा पनि यो समुहको अचारले राम्रो बजार लिएको छ । ‘उत्पादन र प्याकेजिङ गरेर बजारिकरण गर्दैछौं’, समुहकी अध्यक्ष शान्ता सिग्देलले परेवान्युजसँग भनिन- ‘हामीले उत्पादन र प्याकेजिङ मात्रै गर्न सक्यो भने बजारीकरणको समस्या नै छैन, हामी जुनसुकै ठाउँमा पुर्याउन सक्छौं किनभने हाम्रो उत्पादन राम्रो र स्वादिलो छ भन्ने सकारात्मक सुझाव पाएका छौं’ ।
उनको समुहमा ११ जनाको कार्यसमिति भएपनी काम गर्ने साथीहरु अझै थोरै छन् । त्यही थोरै जनाबाट पनि बेलुकी, बिदाको दिन पारेर काम सुरु गर्ने, आफै गएर सामान ल्याएर काट्ने, सुकाउने र मोल्ने गरेका छन् ।
यो व्यवसाय सुरु गर्न उनीहरुले सुरुमा ५० हजार लगानी गरे । त्यसमा पनि भाँडा र मेसिन अनि तालिमको जोहो तत्कालीन वडा अध्यक्ष रमेश अर्यालले मिलाइदिए । गोकर्णेश्वर-६ का पूर्व वडाअध्यक्ष अर्यालले उनीहरुलाई अन्य प्राविधिक कुरामा पनि सल्लाह दिए ।
वडाकै समन्वयमा शान्ता केसी र राम श्रेष्ठबाट १५ दिन तालिम लिएपछि अचार व्यवसाय सुरु गर्न सकेको अध्यक्ष सिग्देल बताउँछिन् । त्यो समयमा गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसे र त्यहाँका कर्मचारीले पनि उत्साह र सपोर्ट गरेको सिग्देलले बताइन्