काठमाडौंमा लगभग मिल्यो भागबन्डा
काठमाडौं, ३० भदौ । सत्ता गठबन्धनमा रहेका दलहरूबीच काठमाडौं उपत्यकाको १५ प्रतिनिधि सभामा लगभग सहमति जुटेको छ । उपत्यकाको काठमाडौमा १०,ललितपुरमा ३ र भक्तपुरमा २ प्रतिनिधि निर्वाचन क्षेत्र छ ।
उपत्यकाको १५ मध्ये भक्तपुर-१ मा गठबन्धनका ५ वटै दलको दाबी छैन । उक्त क्षेत्र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको क्षेत्र हो । यहाँ २०४८ सालदेखि सोही पार्टीले जित्दै आएको छ ।
गठबन्धन दलहरूले सिट बाँडफाँडको लागि बनाएको कार्यदलका सदस्य तथा नेकपा माओवादी केन्द्रका महसचिव देव गुरुङका अनुसार काठमाडौंको १० वटा क्षेत्रमध्ये क्षेत्र नम्बर-२ मात्रै टुंगो लाग्न बाँकी छ । सो क्षेत्रमा काँग्रेस, एकीकृत समाजवादी र माओवादीको दाबी छ ।
यसैगरी काँग्रेसले काठमाडौंको क्षेत्र नम्बर १, ३, ४, ६, र १० पाउने पक्का जस्तै छ । क्षेत्र नम्बर ७ जसपा र क्षेत्र नम्बर ८ एकीकृत समाजवादीले पाउने छ । क्षेत्र नम्बर २ र ९ माओवादीको दाबी छ ।
तर, माओवादीले ललितपुर ३ मात्रै पाउने देखिन्छ । सो क्षेत्रमा माओवादीले जलस्रोत मन्त्री पम्फा भुषाललाई उम्मेदवार बनाउने छ । ललितपुरको १ र २ काँग्रेसले लिन चाहेको छ । त्यसमध्ये एउटा आफुले पाउनुपर्ने एकीकृत समाजवादीको माग छ । भक्तपुर २ भने काँग्रेसले पाउने छ ।
गठबन्धन दलहरूमध्ये काठमाडौमा जनमोर्चाले एक सिट पनि पाउँदैन । जसपाले एक सिट मात्रै पाउँदा माओवादी र समाजवादीले चाहिँ २/२ पाउन सक्ने अनुमान छ । यद्यपि ललितपुर-३ माओवादी र काठमाडौं-८ समाजवादीले पाउने चाहिँ पक्का भैसकेको छ ।
काठमाडौं-५ र भक्तपुर-१ चाहिँ कसैको प्राथमिकतामा छैन ।