राजनीतिमा युवाको प्रतिनिधित्व गर्दै श्रीराम

प्रतिक भट्ट

नेपाली राजनीतिमा झन्डै ७० वर्ष वरिपरिका नेताले एकछत्र राज गरिरहेको अहिलेको अवस्थामा केही युवाले भने राजनीतिक जिम्मेवारी आफ्नो काँधमा लिएका छन् । मुख्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा ७० वर्ष वरिपरिका नेताले नेतृत्व आफ्नै हातमा लिएर बसेका छन् । तर, केन्द्रीयबाहेक प्रदेश, जिल्ला, क्षेत्र र इकाइमा भने कतिपय नेतृत्व तहमा पछिल्लो समय युवाको प्रतिनिधित्व बढ्दै गएको छ ।

सबैजसो राजनीतिक पार्टीमा युवालाई नेतृत्व गर्ने अवसर दिनुपर्ने माग बढ्दै गएको बेला केही युवाले भने नेतृत्वमा रहेर कुशलतापूर्वक आफ्नो राजनीतिक, सामाजिक र व्यवसायिक जिम्मेवारी पूरा पनि गरेका छन् । केही वर्ष यता भएका पार्टीका महाधिवेशनबाट केही युवा केन्द्रीय राजनीतिको मुख्य पदमा पनि पुगेका छन् ।

-श्रीराम चालिसे

यस्तै युवामध्येका एक कुशल व्यक्ति हुन् नेपाली काङ्ग्रेस काठमाडौं-३ प्रदेश (क) का सभापति श्रीराम चालिसे । २०४८ सालमा देशकै उत्कृष्ट मध्यको सिद्धार्थ बनस्थली स्कुलबाट एसएलसी उतिर्ण गरेका चालिसे सोही स्कुलको प्राङ्गणबाट नै राजनीति सुरु गरेका युवा हुन् । संयोग नै भनौं श्रीरामलाई कक्षा ८ पढ्दै गर्दा हालका माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीति माहोलमा हिडाएका थिए । तर, श्रीराम कम्युनिस्ट भने थिएनन् । बरु उनि अहिलेका नेपाली काँग्रेसका महामन्त्री गगन थापाका सहपाठी थिए ।

२०४८ को एसएलसी परिक्षा गगन थापा र श्रीरामले बनस्थली स्कुलबाटै दिएका थिए । ‘स्कुलमा कम्युनिस्ट स्कुलिङ हुँदा पनि हामी नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय थियौं”-श्रीरामले परेवान्युजसँग भने, ‘स्कुलपछि पनि अखिलकै बर्चस्व भएको अमृत साइन्स कलेजमा अध्ययन गरियो र नेविसंघको राजनीति छोडिएन’ ।

घरगाउँको वातावरणले काँग्रेसकै राजनीतिमा सक्रिय र क्याम्पस जीवनमा विद्यार्थी राजनीति गरेका श्रीराम २०६२/०६३ को आन्दोलनमा काँग्रेसको इकाइको निर्देशन अनुसार पार्टी काममा खटिए । काँग्रेस इकाइ सदस्य भएर आन्दोलनमा लागेका श्रीरामको चाहना भने नेपाल तरुण दलको राजनीति गर्ने र नेतृत्वमा पुग्‍ने थियो । उनी तरुण दलको पोखरा महाधिवेशनमा प्रतिनिधि भएर पनि गए तर उनलाई तरुण दलको महाधिवेशन देखेपछि राजनीतिमा नयाँ मोड जाग्यो र माउ पार्टी नेपाली काँग्रेसकै राजनीतिमा सक्रिय देखिए ।

नेपाल तरुण दलमा आवद्ध भएर अगाडी बढ्ने कुरालाई उनले माउ पार्टीमा आवद्ध हुने इच्छामा बदले । जसको परिणाम श्रीरामले पार्टी इकाईबाट एकैपटक काठमाडौं क्षेत्र नम्बर ३ प्रदेस (क) सभापति भएर काम गर्ने अवसर पाए । यो उनको राजनीतिक जीवनमा सुनौलो फड्को थियो । हाल उनी प्रदेश सभापति नै छन् । यसै प्रदेश (क) बाट २०७९ को प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन अन्तर्गत उनी प्रदेश (क) को प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।

उनी प्रदेशसभा सदस्य हुनको लागि आफू योग्य, सक्षम र इच्छुक पनि रहेको बताउँछन । ‘म यसपटक प्रदेशसभामा दाबी गरिरहेको छु’, उनले भने- ‘म जस्तै अरु साथीहरूको पनि दाबी छ, मैले पनि आफ्नो दाबी राखेको हूँ, अवसर कसलाई दिने भन्ने पार्टीको कुरा हो’ ।

राजनीतिमा आफुलाई सक्षम सावित गरेका श्रीराम व्यवसायिक रुपमा पनि सफल छन् । स्व.विशेश्‍वर प्रसाद कोइरालाको सिद्धान्त अनुसार सानैदेखी मेहनत गर्न रुचाउने व्यक्ति भएकोले उनले स्तुपा ग्रुप अफ कम्पनीको अध्यक्ष भएर व्यवसाय अगाडी बढाएका छन् । उनको यो स्तुपा ग्रुपले पर्यटन, वैदेशिक रोजगार, स्वास्थसेवा लगायत काम गर्दछ ।

व्यवसाय र राजनीतिसँगै श्रीराम सामाजिक संस्थामार्फत समाजसेवामा पनि सक्रिय छन् । उनले विगत ५ वर्षदेखि एनआरएसडी भन्ने गैरसरकारी संस्था मार्फत सरकारी स्कुलमा १० हजार भन्दा बढी स्कुल ब्याग हस्तान्तरण गरेका छन् भने ५ सय भन्दा बढी ह्वील चेयर र स्वास्थ्य सामाग्री पनि वितरण गरेका छन् ।

उनी बौद्ध स्थित लाखेपोखरी सहिद पार्कको उपाध्यक्ष रहेर सार्वजनिक जग्गा संरक्षणमा पनि महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन् भने महेन्द्र बौद्ध स्कुलको पूर्व सञ्‍चालक समिति सदस्य भएर पनि आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय