काठमाडौं क्षेत्र नं २ मा काँग्रेससँगै समाजवादी र माओवादीको पनि आँखा
काठमाडौं, २८ भदौ । काठमाडौं क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभाको टिकट लिन नेपाली काँग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच तानातान देखिएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र भनेर चिनिएको काठमाडौं-२ मा यसपटक काँग्रेसले पनि दाबी गरेको छ । काँग्रेसका युवा नेता तथा काठमाडौं-२ का क्षेत्रीय सभापति कबिर शर्मा यो क्षेत्रको लागि जनताको रोजाइमा परेका छन् । यद्यपि यो क्षेत्रमा नेपाली काँग्रेसबाट अन्यको पनि दाबी छ । तर, काँग्रेसले यो क्षेत्र पाएमा कबिर नै उपयुक्त पात्र हुनेछन् ।

यता एकीकृत समाजवादीले भने यसपटक अध्यक्ष नेपाललाई रौतहट पठाएर यो क्षेत्रमा उपाध्यक्ष प्रमेश हमाललाई ल्याउन चाहेको छ । काठमाडौंको १० निर्वाचन क्षेत्रमध्ये समाजवादीको तुलनात्मक हिसाबले राम्रो प्रभाव यही क्षेत्रमा छ । निर्वाचनमा कसले कुन क्षेत्र लिने भन्नेमा सत्ता गठबन्धनबीच कुरा मिलिसकेको छैन । कसले कति पाउने भन्ने टुंगो लागेपछि मात्रै कुन क्षेत्र कसलाई भन्ने टुंगो लाग्नेछ ।
यो क्षेत्रमा माओवादी केन्द्रले पनि आँखा लगाएको छ । यो क्षेत्रमा माओवादी नेता झक्कुप्रसाद सुवेदीलाइ ल्याउन सक्ने बुझिएको छ । झक्कु सुवेदीले २०६४ को संविधान सभा निर्वाचनमा यो क्षेत्रबाट माधवकुमार नेपाललाई हराएका थिए । तत्कालीन अवस्थामा एमाले अध्यक्ष रहेका नेपाललाई काठमाडौं-२ बाट झक्कु सुवेदी र रौतहटबाट देवेन्द्र पटेलले हराएका थिए ।
शंखरापुर नगरपालिकाको १ देखि ९ वडा, कागेश्वरी–मनोहरा नगरपालिकाको ४ देखि ९ वडा र काठमाडौं महानगरपालिकाको ९ र ३२ नम्बर वडा यस क्षेत्रमा पर्छन् ।