सिट बाँडफाँडमा अझै कुरो मिलेन, झन् सकस थपियो
काठमाडौं, २८ भदौ । नेपाली काँग्रेसभित्रको विवाद, माओवादी केन्द्र र एकीकृत समाजवादीको अडान अनि जसपाको घुर्कीले गर्दा सत्ता गठबन्धनमा सिट बाँडफाँडमा कुरो अझै मिल्न सकेको छैन ।
गठबन्धनका शीर्ष नेताहरु सोमबार दिनभर छलफलमा जुटेपनि सहमति भने भएन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शीर्ष नेताको बैठकले सिट बाँडफाँडको टुंगो लगाउन नसकेको मात्रै होइन, छलफलको एजेन्डामा मात्रै केन्द्रित हुन समेत सकेन । बैठकमा सहभागी एक नेताका अनुसार बाँडफाँडमा कुरो अझै मिलेको छैन र केही नेताले घुर्की समेत लगाउन थालेपछि अवस्था झन पेचिलो हुँदै गएको छ ।
यसअघि सिट बाँडफाँड गर्न बनेको कार्यदलले दिएको प्रतिवेदनको विषयमा सामान्य छलफल भएको थियो । छलफलमा नेपाली काङ्ग्रेसको डा.शेखर कोइराला पक्षले काँग्रेसले १०० सिट भन्दा तल झरेर गठबन्धन गर्न नहुने कुरा राखेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि क्रमशः ६० र ३२ सिटमा दाबी गरेको स्रोतको भनाइ छ ।
यता गठबन्धनको अर्को घटक जसपाले २५ सिटलाइ बटमलाइन बनाएको छ । उसले २५ यता नपाए एमालेले दिने समेत हल्ला चलाएको र सोही घुर्की बैठकमा समेत देखाएको बुझिएको छ ।
यता बैठकमा सहभागी सञ्चारमन्त्री तथा सिट बाँडफाँड कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले केही विषयमा सहमति जुट्न बाकी रहेपनी छिट्टै सहमति हुने जानकारी दिए ।
उनका अनुसार प्रतिनिधि सभाको एउटै सिटमा पनि सबै दलको दाबी देखिएको र त्यसलाई मिलाउन प्रयास भैरहेको छ ।