चितवनमा प्रचण्डविरुद्ध काँग्रेसको विद्रोही उम्मेदवार
चितवन, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको विद्रोही पक्षले पनि उम्मेदवारी दिने भएको छ ।
सत्ता गठबन्धनको सिट बाँडफाँड टुंगो लाग्न बाँकी भएपनि मोटामोटी सहमति अनुसार शीर्ष नेताले रोजेको र मागेको क्षेत्र लिन पाउने छन् । सो अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन-३ बाट प्रतिनिधिसभामा उम्मेदवार हुने पक्का छ ।
तर, काँग्रेसभित्रको विद्रोही समुह चितवनमा सक्रिय रहेको र गएको स्थानीय निर्वाचनमा समेत पार्टी ह्वीप उल्लंघन गरेको कारण प्रचण्डलाई अफ्ठ्यारो बनाउन सक्छ ।
सो समुहको नेतृत्व गरेका काँग्रेस चितवनका पूर्व सभापति इन्द्रलाल सापकोटा र गएको स्थानीय निर्वाचनमा मेयर उठेर १४ हजार मत पाएका जगन्नाथ पौडेलले प्रचण्डको क्षेत्रमा काँग्रेसले उम्मेदवार नउठाए आफुहरु मध्येले उम्मेदवारी दिने बताएका छन् ।
उनीहरुले चितवनका प्रतिनिधि सभाका ३ निर्वाचन क्षेत्र र प्रदेश सभाका ६ वटै क्षेत्र मध्ये काँग्रेसका गठबन्धनमा सहमति भएपनि विद्रोही समूहले काँग्रेस उम्मेदवार नभएको क्षेत्रमा बागी उम्मेदवारी दिने अडान लिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र भएर भन्दा पनि काँग्रेस पकड क्षेत्र भएकोले काँग्रेस विद्रोही समूहले यो क्षेत्रमा उम्मेदवारी दिन लागेको बताएको छ ।