सन्दीप लामिछाने एयरपोर्टमै पक्राउ पर्न सक्ने !
काठमाडौं, २६ भदौ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित खेलाडी सन्दीप लामिछाने नेपाल भित्रिने बित्तिकै त्रिभुवन विमानस्थलमै पक्राउ पर्न सक्ने भएका छन् ।
क्रिकेटर लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ भने अदालतले समेत पक्राउ गर्न आदेश दिइसकेको छ । त्यसैले उनी नेपाल फर्कने बित्तिकै पक्राउ गर्न सकिने स्रोतले जनाएको छ ।
एक नाबालिकाले उनीविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिएपछि लामिछानेलाई अदालतले पक्राउ गर्न आदेश दिएको र अध्यागमनले पनि कालोसूचीमा राखेको हो ।
लामिछानेविरुद्ध एक १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको छ । यद्यपि यो आरोप मात्रै हो । उनी हाल क्रिकेट खेलकै दौरान देशबाहिर रहेकाले अध्यागमनले नेपाल आउनासाथ पक्राउ गर्नेगरी कालो सूचीमा राखेको जनाइएको छ ।
सन्दीपले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले आरोप अस्वीकार गर्दै न्यायको लागि सहयोग गर्न नेपाल क्रिकेट संघलाई आग्रह गरेपनि क्रिकेट संघले भने उनलाई निलम्बन गरिसकेको छ ।
युवतीको उजुरी पछि लामिछानेलाई थप अनुसन्धानका लागि पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतले यसअघि नै अनुमतिसमेत दिइसकेको छ ।
अदालतको आदेशसँगै लामिछानेलाई प्रहरीले पक्राउ गर्न सजिलो भएको र संभव त एक दुई दिन भित्र उनी नेपाल आउदा पक्राउ पर्न सक्ने कानुन व्यवसायीको बुझाइ छ ।