गठबन्धनमा अझै शंका, एमाले खुसी

काठमाडौं, २६ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनभित्र सिट बाँडफाँड गर्दा आफुहरुलाई कम महत्त्व दिएको भन्दै जनता समाजवादी पार्टीले गठबन्धन तोड्ने सम्मको अभिव्यक्ति दिएको छ ।

जसपा जस्तै एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि सिट बाँडफाँड कार्यदलको बैठकमा सन्तुष्ट देखिदैन । सिट बाँडफाँड कार्यदलमा छलफल हुँदा जसपालाई बढीमा १३ सिट दिन सकिने भनेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले त्यो आफ्नो दललाई मान्य नहुने अभिव्यक्ति दिएका छन् ।

उनले थोरै सिट पाउदा गठबन्धन तोडेर जाने सम्मको अभिव्यक्ति दिएका छन । यस्तै अभिव्यक्ति नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत दिएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टी फुटाएर पनि गरेको सहयोग र एमाले हराउन सक्ने ताकत लिएर बसेको आफुहरुलाई अपमान गरियो भने गठबन्धन तोडेर एक्लै जान सक्ने भनेका छन् ।

सत्ता गठबन्धन विरोधी अभिव्यक्ति दिन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेता कार्यकर्तालाई खबरदारी गर्दा अन्य दलका मुख्य नेताले भने गठबन्धन विरोधी कुरा गरिरहेकोमा काँग्रेस समेत रुष्ट बन्ने देखिन्छ ।

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले भने १०० सिट भन्दा तल झरेर गठबन्धनमा सिट बाँडफाँड गर्दा काँग्रेसमै विद्रोह हुनसक्ने चेतावनी दिएका छन् । यद्यपि डा.कोइराला गठबन्धन गर्न नहुने पक्षमा भने छैनन् । उनको भनाइ सम्मानजनक गठबन्धन हुनुपर्छ भन्ने रहेको काँग्रेसभित्रका शेखर पक्षीय नेताहरूले बताएका छन् ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सत्ता गठबन्धनमा खटपट सुन्दैमा खुसी हुने गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले त सत्ता गठबन्धनको डोरी चुँडिन लागेको समेत दाबी गरेका छन् ।

अध्यक्ष ओलीले सत्ता गठबन्धन टुट्ने भन्दै जसपालाई आफुतिर तान्ने प्रयास समेत गरेका छन् । राप्रपा र लोसपालाई एमालेसँको गठबन्धनमा रिजर्भ गरिसकेका ओलीले अन्य साना दललाई पनि एमालेसँगै लिएर हिँड्न चाहेका छन् ।

उनले जसपा र जनमोर्चालाई समेत तानेर सत्ता गठबन्धन भत्काउने प्रयास गरेको बुझिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय