माल्दिभ्सको पोस्टमा भारतको ९ गोल, पाकिस्तानमाथि बङ्गलादेश हावी

काठमाडौं, २६ भदौ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतले फराकिलो जीत निकालेको छ ।

दशरथ रङ्गशालामा शनिबार भएको खेलमा भारतले माल्दिभ्सलाई ९–० गोलको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको जीतमा अन्जु तामाङले ह्याट्रिकसहित ४ गोल गर्दा डाङमेई ग्रेसले दुई तथा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक एक गोल गरे ।

समूह ‘ए’ मा रहेको भारतको यो लगातार दोस्रो जीत हो । भारतले यसअघि भएको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो ।

सोही समूहबाट बङ्गलादेश पनि सेमिफाइनलमा पुगेको छ । शनिबार नै भएको अर्को खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६-० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

अब समूह चरणको अन्तिम खेलमा भारत र बङ्गलादेश भिड्ने छन् । सोही खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्‍ने छ ।

यस समूहबाट माल्दिभ्स र पाकिस्तान भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय