कोहलीको कीर्तिमानी शतक, भुवनेश्वरको पाँच विकेट; भारतको सान्त्वना जीत
काठमाडौं, २४ भदौ । युएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत ‘सुपर फोर’मा भारतले सान्त्वना जीत निकालेको छ । बिहिबार भएको खेलमा भारतले अफगानिस्तानलाई १०१ रनको विशाल अन्तरले हराउँदै सान्त्वना जीत हात पारेको हो ।
भारतले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले पूरा २० ओभरमा ८ विकेट गुमाएर १११ रन मा बनाउन सक्यो । इब्राहिम जाद्रान सर्वाधिक ६४ रनमा अविजित रहँदा मुजीब उर रहमानले १८ रन बनाए ।
भारतका भुवनेश्वर कुमारले ४ ओभरमा केवल ४ रन मात्र दिएर ५ विकेट लिए । त्यसैगरी अर्शदीप सिंह, रविचन्द्रन आश्विन र दीपक हुडाले १-१ विकेट हात पारे । २० रनमै ५ विकेट गुमाइसकेको अफगानिस्तानका लागि इब्राहिम बाहेक अन्य ब्याटरले सम्हालिएर खेल्नै सकेनन् ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएको थियो । विराट कोहलीले अविजित रहँदै १२२ रन बनाएका थिए । त्यसैगरी केएल राहुलले ६२ रन बनाए । अफगानिस्तानका फरीद अहमदले २ विकेट लिए ।
टी-२०आईमा यो कोहलीको पहिलो शतक हो । समग्र रुपमा ७१औं शतक प्रहार गरेका कोहली लामो समयदेखि शतकविहीन रहेका थिए । योसँगै उनले अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको ७१ शतकको कीर्तिमान बराबर गरेका छन् ।
भारत र अफगानिस्तान दुवै यस प्रतियोगिताबाट बाहिरिसकेका छन् । यसअघि दुवै टोली आ-आफ्ना खेलमा श्रीलंका र पाकिस्तानसँग पराजित भएका थिए ।
फाइनल खेल श्रीलंका र पाकिस्तानबीच हुने तय भइसकेको छ । त्यसअघि सुपर फोरको अन्तिम खेलमा आज उनीहरुकै खेल रहेको छ ।
दुवै टोली फाइनलमा पुगिसकेकाले सो खेल दुवै टोलीका लागि अभ्याससरह हुनेछ ।