काठमाडौं-३ मा काँग्रेसबाट कोको ?
काठमाडौं, २३ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नम्बर-३ मा उम्मेदवार सिफारिस टुंगो लगाएको छ ।
काठमाडौं क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसले केन्द्रीय सदस्य अम्बिका बस्नेत, गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर तथा हाल पार्टीको क्षेत्रीय सभापति सन्तोष चालिसे, महासमिति सदस्य तथा युवा नेता हरिबोल भण्डारी, पूर्व क्षेत्रीय सभापति परशुराम पोखरेल, नेपाल महिला संघ काठमाडौ सभापति विष्णु पुडासैनी र काँग्रेस पूर्व क्षेत्रीय सभापति जगन्नाथ धिमाललाई सिफारिस गरेको छ ।
यो क्षेत्रमा गएको २०७४ सालमा एमाले पोलिटब्युरो सदस्य कृष्ण राई निर्वाचित भएका थिए । उनले काँग्रेसका उम्मेदवार अम्बिका बस्नेतलाई पराजित गरेका थिए । एमालेले अहिले पनि राईलाई नै टिकट दिने पक्का छ । एमालेबाट उनको नाम एकल सिफारिसमा छ ।
यस्तै स्थानीय निकायको चुनावमा प्राप्त मत हेर्दा यो क्षेत्रमा काँग्रेस बलियो देखिन्छ । नेपाली काँग्रेसले १५ हजार ७ सय ९५ मत पाएको थियो भने एमालेले १४ हजार ८ सय ७६ मत पाएको थियो ।
यसैगरी सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रले १ हजार ७ सय ३० र नेकपा एकीकृत समाजवादीले १ हजार ५६ मत पाएको देखिन्छ । यसैगरि राप्रपाको मत १ हजार ३ सय १४ र जसपाको जम्मा ८७ मत छ ।
यसरी हेर्दा सत्ता गठबन्धनको मत १८ हजार ६ सय ६८ देखिन्छ भने एमाले र राप्रपा मिलेको अवस्थामा १६ हजार एक सय ९० हुनेछ । यद्यपि राप्रपा र एमाले गठबन्धन गर्ने विषय अझै टुंगोमा पुगेको छैन ।