पद, पैसा र पावर होइन शिक्षा, स्वास्थ्य र पर्यटनको नारासहित सुन्दरको उम्मेदवारी

प्रतिक भट्ट

काठमाडौं, २३ भदौ । मानिसका चाहना अनेक हुन्छन् । कसैको बनाउने चाहना हुन्छ त कसैको बिगार्ने । अनि कोही कमाउन चाहन्छन भने कोही गुमाउन पनि तयार हुन्छन् ।

हाम्रो नेपाली समाजमा त्यस्ता थुप्रै उदाहरण छन् जसले राजनीतिको नाममा सधैं नाफा मात्रै देख्छन् । राजनीति घाटाको व्यापार होइन र यहाँ लागेपछि पद पनि सधैं पाइराख्नुपर्छ र पद,पैसा अनि पावर आफुसँग मात्रै हुनुपर्छ भन्ने दम्भ र घमण्ड धेरैमा देखिन्छ ।

तर, यही समाजमा केही यस्ता असल राजनीतिक संस्कार र देश बदल्ने सोच भएका मानिस पनि छन् जसलाई पद, पैसा र पावरको कुनै लोभ र मोह छैन । यस्तै धारणाका व्यक्ति हुन डा.सुन्दरसिंह बोहोरा ।

नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशील डा.सुन्दर यसपटक काठमाडौ क्षेत्र नम्बर ३(क) बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । ‘मलाई ३ वटा ‘प’ अर्थात पद, पैसा र पावरको लोभ र मोह छैन’, उनले भने- ‘पार्टीले सिफारिस गरेपछि अवसर दिने पनि पार्टीले हो, एकपटक अवसर लिएपछि यो मेरो पहिलो र अन्तिम उम्मेदवारी हुनेछ’ ।

सुन्दर देश बनाउने भिजन लिएर आफू संसदमा जान इच्छा देखाएको बताउँछन् । उनले शिक्षाको गुणस्तर बढाउने, स्वास्थ संस्थामा सरल र सहज सेवा उपलब्ध गराउने र पर्यटन मार्फत देशमा आर्थिक विकास र समृद्धि ल्याउने खाका सहित चुनावी प्रतिस्पर्धा गर्न लागेको बताए ।

‘राजनीतिमा लागेपछि पद,पैसा र पावर छिटो हात लाग्छ र त्यही मात्रै राजनीति हो भन्नेलाई विकास र समृद्धिको खाका देखाएर समाज बदल्ने मेरो अभियान हुनेछ’, उनले भने- ‘ पद, पैसा र पावर क्षणिक हो, जनताको विश्वास र भरोसा पाउनु जीवन्त राजनीति हो’ ।

२०४८ सालदेखी घरकै राजनीतिक माहोलबाट नेपाली राजनीतिको पाठशालामा होमिएका बोहरा काठमाडौ क्षेत्र नम्बर-३ को प्रदेस (क) बाट जनताको प्रतिनिधि बन्ने दौडमा छन् ।

शिक्षा, स्वास्थ्य र पर्यटन देश विकासको मेरुदण्ड हो भन्ने बुझेका डा.सुन्दर राजनीतिमा यी तिनै कुरालाई जोडेर देश विकासको आधार बनाउन यसपटक सांसद बन्न खोजेका हुन् ।

उनी राजनीतिमा अन्य क्षेत्रलाई कोटा छुट्याए जस्तै शिक्षा क्षेत्रलाई पनि कोटा दिएर योग्य व्यक्तिलाई संसदमा पुर्‍याउनुपर्छ भन्ने कुरामा पनि स्पष्ट छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय