भारतको एसिया कप यात्रा लगभग समाप्त
काठमाडौं, २२ भदौ । युएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत ‘सुपर फोर’मा भारतले लगातार दोस्रो हार व्यहोरेको छ । मङ्गलबार भएको खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएसँगै भारतको एसिया कप यात्रा सुपर फोरमै सकिने लगभग निश्चितजस्तै बनेको छ ।
भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी छँदा चार विकेटको क्षतिमा भेट्टायो । ओपनरद्वय कुशल मेन्डिस र पथुम निसान्काले ५७ र ५२ रन बनाए भने कप्तान दशुन शनका ३३ र भानुका राजापाक्ष २७ रनमा अविजित रहे ।
भारतका युजभेन्द्र चहलले ३ विकेट लिँदा रविचन्द्रन आश्विनले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । कप्तान रोहित शर्माले ७२ रन बनाउँदा सुर्यकुमार यादवले ३४ रन बनाए ।
श्रीलंकाका दिलशान मदुशन्काले ३ विकेट लिँदा चमिका करुणारत्ने र दशुन शनकाले २-२ तथा महिश थिकशानाले १ विकेट लिए ।
जीतसँगै सुपर फोरको तालिकामा ४ अंकसहित श्रीलंका शीर्ष स्थानमा रहेको छ । भारत २ खेलमा अंकविहीन छ । अन्तिम खेल अफगानिस्तानसँग खेल्ने छ ।
आजको खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएमा भारत र अफगानिस्तान दुवै प्रतियोगिताबाट बाहिरिने छन् ।
सुपर फोरका शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।