विचार र निष्ठामा प्रतिबद्ध सबुज संसदको यात्रामा लम्कँदै

प्रतिक भट्ट

नेपाली राजनीतिमा केही यस्ता पात्र छन् जसले जीवनको लामो समय आफ्नो राजनीति निष्ठा, पार्टीको विचार र सिद्धान्त बाहेक अन्य कुरालाई गौण मान्‍ने गरेका छन् । पार्टीको विभिन्‍न तहमा मुख्य भुमिका लिएर बस्दा पनि सबै पदमा आफैं हुनुपर्छ भन्‍ने मान्यताभन्दा टाढा रहेर नैतिकता, आदर्श र त्याग देखाउने गरेका छन् ।

नेपाली राजनीतिको अहिलेको माहोलमा यस्ता पात्र पनि भेटिन्छन् जसले पार्टीमा गरेको काम होस् वा योगदान र मेहनतको कहिल्यै चर्चा गर्न खोज्दैनन । उनीहरु राजनीतिसँगै अरु जुनसुकै क्षेत्रमा आफुले गरेको योगदानलाई पनि चर्चाको विषय बनाएर लाभ लिने महत्त्वकांक्षा पनि राख्दैनन् ।

यस्तै एकजना राजनीतिक व्यक्तित्व हामीले भेटेका छौं । उनी हुन् नेपाली काँग्रेस काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँ । २०४२/०४३ सालदेखि राजनीतिमा लागेका बानियाँ २०४६ सालको बहुदलीय व्यवस्था ल्याउन भएको जनआन्दोलनका एक सक्रिय सहभागी हुन् । उनी बहुदल आएपछि निरन्तर नेपाली काङ्ग्रेसको इकाइ, क्षेत्र, जिल्लाको नेतृत्वमा छन् ।

– सबुजकृष्ण बानियाँ

यो उनको काठमाडौं जिल्ला सभापतिको रुपमा दोस्रो कार्यकाल हो । उनले प्रतिद्वन्दी उपेन्द्र कार्कीलाई झन्डै एक हजार भोटको अन्तरले हराएर सभापति जितेका हुन् । काँग्रेसको राजनीतिबाट नै उनले २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन गोङ्गबु गाविसको अध्यक्ष जिते । उनले २०४९ सालमै यो पदमा निर्वाचन लडेको भएपनि झिनो मतले विजयी बन्‍न सकेनन् ।

देशको संघीय राजधानी काठमाडौं जस्तो जिल्लामा आफ्नो दह्रो पकड भएका बानियाँ २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै सांसद बन्‍न चाहन्थे र उनको नाम पनि सिफारिस भइरहेको हुन्थ्यो । हरेक निर्वाचनमा नाम सिफारिस भएर पनि सबुजले आफुलाइ पार्टीको अनुशासनमा रहेर दाबी छाड्दै अरुलाई मौका दिए । उनले आफूभन्दा अग्रजलाइ सम्मान दिऊँ, अर्को साथीलाई अवसर दिऊँ भन्दै हरेक पटक त्याग गरे र आफु जिल्लाकै राजनीतिमा सक्रिय भइरहे ।

‘मैले यसो गरें उसो गरें भनेर आफ्नै कुरा गर्नु राम्रो होइन, तर मेरो कारण कसैलाई अफ्ठ्यारो पार्ने काम गरिन’, उनले भने- ‘त्यसको गुन साथीहरू र पार्टीले मलाई यसपटक तिर्छन् भन्‍ने ठानेको छु’ । सबुजले यसपटक काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा दाबी गरेका छन् । यसपटक उनले पार्टी र साथीहरूको पुर्ण साथ र समर्थन पाउनेमा आशा राखेका छन् ।
२०६२/०६३को दोस्रो जनआन्दोलन सफल हुनुअगाडि सबुजलाई राजा ज्ञानेन्द्रको शासनकालमा घरबाटै गिरफ्तार गरेर करिब एक महिना हिरासतमा राखियो ।

आन्दोलन सकिने दुई दिनअघि अदालतको आदेशमा उनी छुटे । २०६२/०६३ को दोस्रो ऐतिहासिक जनआन्दोलन सफल भएपछि उनी पुनः पार्टीको सच्चा पहरेदार भएर लोकतन्त्र र नेपाली काँग्रेसको राजनीतिमा अझै प्रतिबद्ध भएर लागिरहे । यो बीचमा पार्टीले स्थानीय तह र प्रदेशसभामा उनलाई पठाउन खोज्यो । तर उनको योजना स्थानीय तह र प्रदेशभन्दा प्रतिनिधिसभामा गएर देश र जनताको काम गर्ने थियो ।

‘मसँग देश विकासको खाका पनि छ र राजनीतिक निष्‍ठा पनि छ’, सबुज भन्छन्- ‘त्यसैले मैले प्रतिनिधिसभा सदस्य भएर जनताको काम गर्ने र त्यही कामको आधारमा पार्टीलाई थप बलियो बनाउने योजना अगाडि सारेर टिकट दाबी गरेको हूँ’ ।

प्रतिनिधिसभा नै मेरो लक्ष्य हो भन्दै आएका बानियाँले यसपटक त्यो मौका पाउने करिबकरिब पक्का जस्तै छ । किनभने उनको क्षेत्र काठमाडौं- ६ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उनको मात्रै नाम सर्वसम्मत सिफारिस भएको छ ।

‘जिल्लाको पूर्ण बैठकले जिल्ला सभापतिलाई नै अगाडि सार्ने भनेर मेरो नाममा सर्वसम्मत गरेर पठाएको छ’, परेवान्युजसँग उनले भने- ‘पार्टीमा मेरो योगदान अनि निष्ठा र सिद्धान्त प्रतिको प्रतिबद्धताकै कारण पार्टीका साथीहरूले मलाई सर्वसम्मत निर्णय गरेर उम्मेदवार सिफारिस गरेका छन्, यसमा पार्टी केन्द्रले पनि मलाइ न्याय गर्छ भन्नेमा ढुक्क छु’ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय