केन्यासँगको एकदिवसीय श्रृंखला नेपालद्वारा ‘क्लिनस्वीप’
काठमाडौं, २० भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले केन्यासँगको तीन खेलको एकदिवसीय श्रृंखला क्लिनस्वीप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हराएको हो ।
केन्याले दिएको २५६ रनको विजयी लक्ष्य नेपालले ४७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर अर्जुन साउदले ५८, आसिफ शेखले ५६ तथा बासिर अहमदले अविजित ५२ रनको अर्धशतकीय पारी खेले ।
त्यसैगरी कप्तान रोहित पौडेल ४६ रनमा अविजित रहे । केन्याका भ्राज पटेलले २ विकेट लिँदा कप्तान सेम नेगोचे र यश तलातीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो । कलिन्स ओबयाले ८४ रन बनाउँदा लुकास ओलोच ५५ रनमा अविजित रहे ।
लुकासले ५ चौका र ५ छक्कासहित विस्फोटक ब्याटिङ गरेका थिए । नेपालका सोमपाल कामी र आदिल आलमले २-२ विकेट लिँदा बासिर अहमद र साहब आलमले १-१ विकेट हात पारेका थिए ।
यसअघि नेपालले पाँच खेलको टी२०आई श्रृंखला ३ २ ले जितेको थियो ।