चुनावपछि म सडकमा जान्छु: प्रचण्ड
काठमाडौं, १९ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सरकारको नेतृत्व गर्छु भन्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाएक बोली फेरेर सडकमा जाने कुरा बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले चुनावपछि आफू अहिलेको प्रणाली फेर्न सडकमा जाने घोषणा गरेका हुन् । मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेका शासन प्रणाली र चुनाव प्रणाली फेर्न सडकमा जानुको विकल्प नरहेको बताए ।
‘एक वर्ष भित्र आन्दोलन हुनेवाला छ’, प्रचण्डले भने- ‘त्यो आन्दोलनको नेतृत्व हामीले नगरे प्रतिगमनकारीले गर्छ, त्यसैले हेरिरहनुहोला चुनावपछि म सडकमा जान्छु । समाजवादमा जाने जुन परिकल्पना मैले गरेको छु त्यसका लागि सडकमा जानैपर्छ’ ।
अध्यक्ष प्रचण्डले अहिलेको शासन व्यवस्थन बदल्न जरुरी भएको भन्दै शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामा जानुको विकल्प नभएको बताए ।
अध्यक्ष प्रचण्डले हालै संसदीय समितिमा चोलेन्द्रशमशेर जबराले आफू सडकबाट पनि घेराबन्दीमा परेको प्रसंग निकाल्दै त्यो घेराबन्दी आफूले नै गरेको दाबी गरे ।
उनले घनश्याम भुसालले तीन,चार वर्षभित्र उथलपुथल हुन्छ भनेपनि त्यो उथलपुथल १ वर्षभित्रै हुने र त्यसको नेतृत्व आफैंले गर्ने बताए ।
कार्यक्रममा एमाले नेता घनश्याम भुषालले पनि समाजवादमा जाने कुराको ग्यारेन्टी गर्न अहिलेको विकल्प खोज्नुपर्नेमा जोड दिए ।