सत्ता गठबन्धनमा सिटको भागबन्डा मिल्यो !

काठमाडौं, १९ भदौ । नेपाली काँग्रेसले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) समेतलाई भागभण्डामा राख्नुपर्ने र त्यो सिट अहिले आफुलाइ दिनुपर्ने सर्तसहित बाँडफाँडमा सहमति गरेपछि सत्ता गठबन्धनले करिब-करिब सहमतिको ड्राफ्ट तयार पारेको छ ।

सिट बाँडफाँडको लागि बनाइएको कार्यदलले शीर्ष नेता समेत गुहारेर सिट भागबन्डाको मस्यौदा तयार पारेको बुझिएको छ । यद्यपि यसको औपचारिक घोषणा बाँकी छ ।

कार्यदलमा सहमति हुने भएपछि अन्तिम राय लिन शीर्ष नेताहरु बालुवाटार गएका थिए । आजै साँझसम्म कार्यदलको बैठक फेरि बस्‍ने र त्यसमा तयार पारिएको मस्यौदा प्रस्ताव गरिने एक नेताले बताए ।

स्रोतका अनुसार काँग्रेस ८९ सिट लिन सहमत भएको छ । त्यसमा महन्थ ठाकुर नेतृत्वको लोसपा पनि गठबन्धनमा आए बढीमा ४ सिट जिताउन काँग्रेसले आफ्नो सिट छाड्ने छ ।

त्यसैगरी अहिले माओवादी केन्द्र ४० सिट लिन सहमत छ । उसले पनि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी आए ४ सिट दिनुपर्ने छ । त्यसैगरी वामदेव गौतमको सिट पनि यसैबाट सुरक्षित गर्नुपर्ने छ ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा एसले १७ सिट मात्रै पाउनेछ भने गठबन्धनको अर्को शक्ति जसपाले १३ सिट पाउने छ । राष्ट्रिय जनमोर्चाको भागमा प्रतिनिधिसभाको १ सिट मात्रै परेको छ ।

देशभरबाट प्रतिनिधिसभामा १६५ सिट रहेको छ । यो मध्य काँग्रेसलाई ७० मात्रै दिनुपर्ने माधवकुमार नेपालको जोड थियो भने प्रचण्ड काँग्रेसलाई ७९ दिनेपक्षमा थिए ।

यसले गठबन्धनमा समस्या आउने ठहर गरेपछि शीर्ष नेतालाई बालुवाटार बोलाइएको स्रोतको दाबी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय