सत्ता गठबन्धनको धागो चुँडिन लागिसक्यो: ओली
काठमाडौं, १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी भागबन्डा मिलाउन नसक्दा सत्ता गठबन्धन धरापमा पर्दै गएको र कुनैपनि समय गठबन्धनको धागो चुँडिन सक्ने दाबी गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र झापामा रहेका ओलीले बाहिर देखिएजस्तो मित्रता गठबन्धनभित्र नभएको बताए । उनले गठबन्धनभित्र स्वार्थ नमिलेर रोइकराई सुरु भइसकेको हुँदा गठबन्धनको धागो कुनै पनि बेला चुँडिन सक्ने सूचना आफुसँग भएको जिकिर गरे ।
गठबन्धन गर्नेलाई जनताले राम्रोसँग चिनिसकेको बताउँदै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा जनताले गठबन्धन होइन एमालेलाई रोज्ने विश्वास व्यक्त गरे । ‘नेता-नेता गठबन्धनमा छन्, जनता एमालेमा छन्, जनताको पार्टी एमालेलाई कसैले हराउन सक्दैन’, उनले भने ।
जगबिनाको गठबन्धन धरापमा रहेको बताउँदै अध्यक्ष ओलीले अब छिट्टै गठबन्धन टुट्ने र निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी समेत गरे । गठबन्धनमा रहेका माधव नेपाल दिनरात रोइकराई गर्दै हिँडिरहेको बताउँदै अध्यक्ष ओलीले भने, ‘उब्रेको खान जाँदा जुठो खान्नँ भन्न पाइँदैन । माधव नेपाल अहिले जुठो खान्नँ भनिरहेका छन्, गठबन्धनमा काँंग्रेसले छोडेका सिट मात्रै अन्य दलले पाउने हो ।’
अध्यक्ष ओलीले झापाको गौरीगन्जमा पार्टी प्रवेश कार्यक्रमलाई पनि सम्बोधन गर्दै पार्टीका कार्यकर्ताहरूलाई एकताबद्ध भएर निर्धक्क साथ निर्वाचनमा जुट्न आग्रह गरेका थिए ।