ओखलढुंगामा काँग्रेसले उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं, १९ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेपाली काँग्रेस ओखलढुङ्गाले प्रतिनिधिसभा र प्रदेशसभामा इच्छुक उम्मेदवारको नाम सिफारिस गरेको छ ।

काँग्रेस जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गरेको हो । तर, उम्मेदवार हुन चाहना राख्ने सबैको नाम माथिल्लो तहमा पठाइएको छ । यसलाई केही काँग्रेसका नेताकार्यकर्ताले भने थोरै नाम पठाउनुपर्नेमा झन् भद्रगोल बनाएर पठाएको टिप्पणी समेत गरेका छन् ।

ओखलढुंगा काँग्रेसले प्रतिनिधिसभाको लागी प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ पाँच जना उम्मेदवारको नाम सिफारिस गरेको छ । जसमा केन्द्रीय सदस्यद्वय प्रदिप कुमार सुनुवार र रामहरि खतिवडा पनि छन् ।

यसैगरी खिलानाथ दाहाल र बालकृष्ण दाहालको नाम पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । प्रतिनिधसभा समानुपातिकतर्फ महेश कुमार कर्मोचा, गोमा केसी, बाला अधिकारी, हेमालक्ष्मी राईलाई सिफारिस भएका छन् ।

यता प्रदेश सभा (क) प्रत्यक्ष तर्फ १४ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । जसमध्ये लिला बल्लव दाहाल, गंगा बहादुर कार्की, राजकुमार ढुंगाना, सर्वधन तामाङ, नविन राई, बद्रिनाथ दाहाल, टेकराज भट्टराई छन । त्यस्तै बेदबहादुर रोका, हरि प्रसाद दाहाल, विनोद कुमार केसी, महेन्द्र बहादुर कार्की, नन्दलाल गिरी, केदारनाथ दाहाल र दिनेश मगर छन् ।

समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ झिलादेवी दाहाल, तिर्थराज थापा क्षेत्री, पेमा निमा शेर्पा, हेमालक्ष्मी राई, टिकाराम कार्की, अम्बरबहादुर विक, हेम कुमारी तामाङ सिफारिस भएका छन् । यस्तै कुमार तामाङ, प्रकाश कार्की, मैया राई, युवराज गजमेर, शान्ता भण्डारीलगायत १२ जना समानुपातिकतर्फ सिफारिस भएका हुन् ।

त्यसैगरी प्रदेश सभा (ख) को प्रत्यक्ष तर्फ आठ र समानुपातिक तर्फ १२ जनाको नाम उम्मेदवारका लागि सिफारिस भएका छन् । प्रत्यक्ष तर्फ कुमार लुईटेल, रुद्रप्रसाद अधिकारी, अजय लुईटेल, भोजकुमार श्रेष्ठ, बाला अधिकारी, पुरुषोत्तम लुईटेल, राजन कुमार सुवेदी र शान्तिराज खड्का सिफारिस भएका हुन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र (ख) समानुपातिक तर्फ सविता राई, कुमार बहादुर श्रेष्ठ, दुर्गाकुमारी तामाङ, लेखबहादुर राई, बलबहादुर तामाङ, सुन्तला परियार, गोपाल खड्काको नाम सिफारिसमा परेको छ ।

यसका साथै खिम तामाङ, ईन्द्रमाया मगर, डिल्लीबहादुर रोका, चन्द्रबहादुर कार्की र अर्चना लुईटेल पनि निर्वाचन क्षेत्र (ख) बाट समानुपातिक तर्फ सिफारिसमा परेको नेपाली काँग्रेस ओखलढुङ्गाले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय