हङकङ ३८ रनमै अलआउट, पाकिस्तान ‘सुपर फोर’मा
काठमाडौं, १८ भदौ । पाकिस्तान युएईमा जारी एसिया कप क्रिकेटको ‘सुपर फोर’मा प्रवेश गरेको छ । गएराति भएको खेलमा हङकङलाई १५५ रनको विशाल अन्तरले हराउँदै पाकिस्तान अघिल्लो चरणमा प्रवेश गरेको हो ।
दुवै टोलीलाई जित्नैपर्ने दबाब रहेको खेलमा पाकिस्तानले दिएको १९४ रनको लक्ष्य पछ्याएको हङकङ १०.४ ओभरमा ३८ रनमा समेटियो । कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका शादाब खानले ४ विकेट लिँदा मोहम्मद नवाजले ३ तथा नसीम साहले २ र शाहनवाज दहानीले १ विकेट हात पारे । भारतसँग १५२ रन बनाएको हङकङ पाकिस्तानसँग भने निरीह बन्यो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९३ रन बनाएको थियो । मोहम्मद रिजवान ७८ रनमा अविजित रहँदा फकार जमानले ५३ रन बनाए । खुशदिल साह १५ बलमा ३५ रन बनाएर अविजित रहे । हङकङका लागि दुवै विकेट एहसान खानले लिए ।
जीतसँगै पाकिस्तान समूह ‘ए’ बाट सुपर फोरमा प्रवेश गरेको छ । यस समुहबाट भारत यसअघि नै अगाडि गइसकेको थियो ।
सुपर फोरमा अफगानिस्तान भारत श्रीलंका र पाकिस्तान भिड्ने छन् । शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।