लोकतन्त्र र काँग्रेसलाई आँखाको ज्योति देख्‍ने लेखकुमारी

नेपाली राजनीतिमा केही यस्ता इमानदार नेता कार्यकर्ता पनि छन् जसले जीवनभर आफू संलग्‍न पार्टीको झन्डा बोक्नुमै गर्व गरे । आजको नेपाली राजनीतिमा व्यक्तिगत स्वार्थ र बेइमानीको काम गरेर पार्टीको बदनाम गर्नेहरु पनि छन् ।

तर, केही यस्ता पात्र पनि छन् जसले जीवनमा पार्टीलाई बदनाम हुने काम पनि गरेनन् र पार्टीले अवसर नदिँदा पार्टी छाडेर अर्को पार्टीमा जान्छु वा स्वतन्त्र हुन्छु भनेर घुर्की पनि लगाएनन् । बरु पदमा रहे पनि र नरहेपनी पार्टी काममा निरन्तर खटिइरहे ।

यस्तै मध्येकी एक पात्र हुन गोकर्णेश्वर नगरपालिका वडा नम्बर-६ नयाँबस्ती निवासी लेखकुमारी पुडासैनी । २०३६ सालको जनमतसंग्रह देखि बहुदलीय व्यवस्थाको लागि संघर्ष गर्दै अगाडि बढेकी लेखकुमारी हाल नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि र नेपाल महिला संघ काठमाडौ क्षेत्र नम्बर-३ की अध्यक्ष छिन् ।

– लेखकुमारी पुडासैनी

संयोग नै भनौं लेखकुमारीको बुबा भुवनप्रसाद घिमिरे र नेपाली राजनीतिका शिखर पुरुष स्व.गणेशमान सिंह साथी थिए । त्यसैले लेखकुमारीलाइ घरमै राजनीतिक प्रशिक्षण मिल्यो र उनले प्रजातन्त्र र नेपाली काँग्रेस बारे बुझ्‍न पाइन् । २०४६ मा प्रजातन्त्रका लागि भएको आन्दोलनमा लेखकुमारी राँके जुलुसमा सहभागी पनि भइन् ।

त्यसपछि गणेशमान, कृष्णप्रसाद भट्टराई, दमननाथ ढुङ्गाना, पिएल सिंहहरुको आउ जाउ उनको घरमा पनि हुनथाल्यो । त्यो समय गोठाटार बस्‍ने लेखकुमारी धरपकडमा पनि परिन् तर चिनेको एकजना प्रहरी अधिकृतले उनलाई प्रहरी हिरासतबाट निकालेर घर पठाइदियो । त्यसपछि अर्को दिनको आन्दोलनमा उनी पक्राउ परिन् र एक रात गौशाला प्रहरीमा राखियो ।

देशमा बहुदल आएपछि पनि लेखकुमारीको संघर्ष जारी रह्‍यो । उनले नेपाली काँग्रेसको विभिन्‍न समितिमा रहेर काम गरिन् । देशमा माओवादी युद्धको अन्तिम समयमा सुन्दरीजल स्थित बिपी संग्रहालयको गेटमा माओवादीले ताला लगाए । लेखकुमारीले गाडीमा साथीहरू लिएर गएर त्यो ताला फोडेर माओवादीलाई च्यालेन्ज दिइन् । पछि माओवादी खुला राजनीतिमा आएपछि पनि हड्ताल र चक्काजाम गरेर जनजीवन प्रभावित पारेको उनलाई मन परेन । उनले कैयौं ठाउँमा माओवादीको प्रतिवाद गरिन् ।

माओवादीको आमहड्तालमा हातमा हँसिया बोकेर निस्कने उनी काँग्रेसभित्र आँटिलो र संघर्षशील महिला भनेर चिनिन्छिन् । त्यो बेला पनि माओवादी अध्यक्ष प्रचण्डलाई सडकबाट चुनौती दिने एक्ली महिला उनी थिइन् । ‘मैले प्रचण्डले जनतालाई दु:ख दिएको मन परेन र प्रतिकार गरे’, उनी भन्छिन्- ‘त्यही कारण माओवादी वाइसीएल मेरो घर घेर्न पनि आए । माओवादी नेता शालिकराम जमकटेलले समेत भेट्न आएर मलाइ थर्काउन खोजे ।’

२०६२/०६३ को आन्दोलनमा पनि लेखकुमारी सक्रिय भएर लागिन् । आन्दोलन सफल भएपछि उनी पार्टीको सदस्यता विस्तार र आफ्नो जिम्मेवारीमा अगाडि बढिरहिन् । उनलाइ कुनै अर्को पार्टीले आफ्नोमा आउनुस् यो पद दिन्छु भन्दा पनि कहिल्यै काँग्रेसको चारतारे झन्डा र रुख छोडेर जाने मन नै भएन । ‘म इमान, इज्जत र नैतिकता गुमाउने वा मेरो पार्टी कहिल्यै छोडेर जान सक्दिन’, उनी भन्छिन्- ‘त्यही भएर हरेक प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएकै कारण पार्टीले अहिले मेरो नाम समानुपातिकमा सिफारिस गरेर पठाएको र यसले मलाइ न्याय गरेको छ’ ।

हाल नेपाली काँग्रेस क्षेत्र नम्बर ३(ख)बाट उनको नाम समानुपातिक सूचीको लागि सिफारिस गरिएको छ । उनलाइ यसपटक पार्टीले टिकट दिएर न्याय गर्छ भन्ने लागेको छ । ‘पार्टीले मलाइ यो मान्छे चाहिन्छ है भनेर नै नाम पठाएको होला, टिकट पाँए भने म पनि पार्टीलाई न्याय गर्छु’ । पार्टीले व्यक्तिको क्षमता र योगदान हेरेर नै टिकट दिएको हो भने अब जनताको प्रतिनिधि भएर काम गर्ने अवसर पनि दिनुपर्ने उनको भनाइ छ । ‘मैले जिवनभर काँग्रेस भन्दा फरक सोचेको छैन, चारतारे झन्डा र रुखको शीतलता नै मेरो ऊर्जा हो’, उनले परेवान्युजसँग भनिन् ।

उनले योभन्दा अगाडी पनि स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको उपमेयरको टिकट दिएको भए आफुले जित्‍ने भन्दै जनतासँग गएर काम गर्छु भन्दा पार्टीले त्यो बेला टिकट नदिएको तर अहिले समानुपातिकमा राखेकोमा खुशी भएको कुरा उल्लेख गरिन् । ‘मलाई अहिले पार्टीले न्याय गरेको भन्ने बुझेको छु । मेरो बा भुवन प्रसाद घिमिरे र गणेशमान सिंह साथी भएकोले मलाइ राजनीति बुझ्न सजिलो भयो’, उनले भनिन् ।

पार्टी राजनीतिबाहेक संस्थामा पनि उनी सक्रिय छिन् । हाम्रो गुठी भन्‍ने संस्थामा १२ बर्ष उपाध्यक्ष अनि दुई वर्ष अध्यक्ष भएर काम गरिसकेकी उनी हाल सो संस्थामा सल्लाहकार छिन् । नयाँबस्ती युवा क्लबमा उपाध्यक्ष रहेर काम गरेकी र जनभावना महिला समुहको अध्यक्ष भएर बागमती सरसफाइमा लागेको उनी बताउँछिन् ।

हाल सयपत्री महिला समुहको सल्लाहकार र जनएकता टोल सुधार समितिको अध्यक्ष पनि लेखकुमारी नै हुन । ‘मलाई सबैले बुझ्ने कारण र मेरो राजनीतिमा प्रभाव हुनुको कारण नै सामाजिक संस्थामा सक्रिय हुनु हो’, उनले भनिन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय