आसिफको शतकमा केन्यामाथि नेपालको शानदार जीत

काठमाडौं, १७ भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले केन्यासँगको तीन खेलको एकदिवसीय श्रृंखलामा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको हो ।

केन्याले दिएको २१९ रनको विजयी लक्ष्य नेपालले ४७.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर आसिफ शेखले ११० रनको शतकीय पारी खेले भने अर्जुन साउदले ६१ रन बनाए ।

यी दुईले पहिलो विकेटको लागि १४१ रनको साझेदारी गरेका थिए । केन्याका भिसिल पटेल, राकेप पटेल र कलिन्स ओबुयाले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रन बनाएको थियो । राकेप पटेलले ६७ तथा कलिन्स ओबुयाले ६२ रन बनाएका थिए ।

नेपालका सोमपाल कामी र करण केसीले ३-३ विकेट लिँदा आदिल अन्सारी र पवन सर्राफले १-१ विकेट हात पारेका थिए ।

यस जीतसँगै नेपालले तीन खेलको श्रृंखलामा १-० को अग्रता बनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय