एसिया कप: रोमाञ्‍चक जीतसहित श्रीलंका सुपर फोरमा, बङ्गलादेश बाहिरियो

काठमाडौं, १७ भदौ । श्रीलंका युएईमा जारी एसिया कप क्रिकेटको ‘सुपर फोर’मा प्रवेश गरेको छ । गएराति भएको रोमाञ्‍चक खेलमा बङ्गलादेशलाई २ विकेटले हराउँदै श्रीलंका अघिल्लो चरणमा प्रवेश गरेको हो ।

दुवै टोलीलाई जित्‍नैपर्ने दबाब रहेको खेलमा बङ्गलादेशले दिएको १८३ रनको लक्ष्य श्रीलंकाले १९.२ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । कुशल मेन्डिसले सर्वाधिक ६० रन बनाउँदा कप्तान दसुन शनकाले ४५ रन बनाए ।

अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा पहिलो बलमा २ रन र दोस्रो बलमा चौका प्रहार गरेपछि तेस्रो बल बङ्गलादेशका मेहदी हसनले नो बल फालेका थिए । त्यसमा असिथा फर्नान्डोले १ रन निकाल्दै टोलीलाई जीत दिलाए ।

बङ्गलादेशका इबादोत होसेनले ३ विकेट लिँदा तास्किन अहमदले २ तथा मुस्तफिजुर रहमान र मेहदी हसनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । अफिफ होसेनले सर्वाधिक ३९ रन बनाए भने मेहिदी हसन मिराजले ३८ तथा कप्तान शाकिब अल हसन र मोसद्देक होसेनले समान २४ रन बनाए ।

श्रीलंकाका वानिन्दु हसरङ्गा र चमिका करुणारत्‍नेले २-२ विकेट लिँदा दिल्शान मदुशन्का, महिश थिकशाना र असिथा फर्नान्डोले १-१ विकेट लिएका थिए ।

जीतसँगै श्रीलंका समूह ‘बी’ बाट सुपर फोरमा प्रवेश गरेको छ । यस समुहबाट अफगानिस्तान यसअघि नै अगाडि गइसकेको छ ।

अब आज बेलुका हुने समूह ‘ए’ को अन्तिम खेलमा पाकिस्तान र हङकङबीचको विजेता टोली सुपर फोरमा जाने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय