काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा एमालेले टुंगो लगायो उम्मेदवार

काठमाडौं, १६ भदौ । सत्तारुढ दलहरूले निर्वाचन क्षेत्र बाँडफाँड टुंगो लगाउन नसकिरहेका बेला नेकपा एमालेले भने काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार सिफारिस टुंगो लगाएको छ ।

नेकपा एमालेले यसपटक काठमाडौं-७ बाट दुईपटक चुनाव जितेका बहालवाला सांसद रामवीर मानन्धरलाई भने सिफारिस नै गरेको छैन । सो क्षेत्रबाट इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्तलाई सिफारिस गरेको छ । विद्याशुन्दर शाक्य काठमाडौंका निवर्तमान मेयर हुन् भने रघुजी पन्तको निर्वाचन क्षेत्र यसअघि ललितपुर हो ।

एमाले स्रोतका अनुसार वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईलाई काठमाडौं-१ बाट सिफारिस गरिएको छ । त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई काठमाडौं-५ बाट उम्मेदवार बनाउने भनिएको छ । पोखरेल हाल त्यै क्षेत्रका सांसद हुन । यसैगरी क्षेत्र नम्बर-२ मा मणिराम फुँयाल, क्षेत्र नम्बर-३ मा कृष्ण राई र क्षेत्र नम्बर-८ मा राजेश शाक्यको मात्रै सिफारिस गरिएको छ ।

एमालेले जनाए अनुसार क्षेत्र नम्बर १ बाट भट्टराईबाहेक विदुर मैनाली र रुपनारायण श्रेष्ठलाई सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्बर-४ बाट डा.राजन भट्टराई र निर्मल कुइँकेल, क्षेत्र नम्बर ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना, क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य र क्षेत्र नम्बर १० बाट विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन, हिमेष केसीलाई सिफारिस गरेको छ ।

यसपटक काठमाडौंको मेयरमा पराजित केशव स्थापित र हालका सांसद रामविर मानन्धरलाई सिफारिस नै नगर्दा एमालेले केही क्षेत्रमा राप्रपा उम्मेदवारलाई सघाउने तयारी गरेको अनुमान गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय