लगातार दोस्रो जीतसहित अफगानिस्तान एसिया कपको ‘सुपर फोर’मा
काठमाडौं, १५ भदौ । अफगानिस्तान युएईमा जारी एसिया कप क्रिकेटको ‘सुपर फोर’मा प्रवेश गरेको छ । गएराति भएको खेलमा बङ्गलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तान अघिल्लो चरणमा प्रवेश गरेको हो ।
बङ्गलादेशले दिएको १२८ रनको लक्ष्य अफगानिस्तानले १८.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । नजिबुल्लाह जाद्रान ४३ तथा इब्राहिम जाद्रान ४२ रनमा अविजित रहे ।
१७ बल मात्र खेलेका नजिबुल्लाहले विस्फोटक ब्याटिङ गर्दै ६ छक्का प्रहार गरेका थिए । बङ्गलादेशका शाकिब अल हसन, मोसद्देक होसेन र मोहम्मद सैफुद्दिनले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो । मोसद्देक होसेनले सर्वाधिक ४८ रन बनाउँदै अविजित रहे । अफगानिस्तानका मुजीब उर रहमान र राशिद खानले ३-३ विकेट लिएका थिए ।
जीतसँगै २ खेलमा ४ अंक जोडेको अफगानिस्तान समूह ‘बी’ बाट सुपर फोरमा प्रवेश गरेको छ । अब श्रीलंका र बङ्गलादेशबीचको विजेता टोली सुपर फोरमा जानेछ ।