केन्यासँगको निर्णायक खेल जित्दै नेपालद्वारा श्रृंखला कब्जा

काठमाडौं, १४ भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले केन्यासँगको पाँच खेलको टी-२० श्रृंखला जितेको छ । मङ्गलबार भएको अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हराएको हो ।

नेपालले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको केन्याले पूरा २० ओभर खेलेर ७ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । नेमिया ओडियाम्बोले सर्वाधिक ३७ रन बनाए भने कप्तान सेम नेगोचे ३३ रनमा अविजित रहे ।

नेपालका कप्तान सन्दीप लामिछाने र बासिर अहमदले २-२ विकेट लिँदा करण केसी, आदिल आलम र दिपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । ज्ञानेन्द्र मल्लले ५९ रन बनाए भने रोहित पौडेलले ४७ रन बनाए ।

 केन्याका नेमिया ओडियाम्बो, भ्राज पटेल र सेम नेगोचेले २-२ विकेट लिँदा लुकास ओलोचले १ विकेट लिएका थिए ।

यस जीतसँगै नेपालले ५ खेलको श्रृंखला ३-२ ले जित्दै श्रृंखलाको ट्रफी आफ्नो नाममा गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय