सिफारिस गर्दा उम्मेदवारबाट पैसा नउठाऊ: काँग्रेस
काठमाडौं, १४ भदौ । नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीभित्रबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन तल्लो निकायलाई निर्देशन दिएको छ ।
काँग्रेसले महाधिवेशन ताका पार्टी भित्रको आन्तरिक निर्वाचन र स्थानीय निर्वाचनमा इच्छुक उम्मेदवारबाट पैसा लिएको आरोप खेप्दै आएको थियो । जिल्ला र प्रदेशले उम्मेदवार सिफारिसमै पैसा लिने कुरालाई यसपटक काँग्रेसले सुचनामार्फत निर्देशन दिएर निस्तेज गरेको हो ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मातहतका कार्यसमितिलाई परिपत्र गर्दै पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै पनि शुल्क नलिन निर्देशन दिएका हुन् । अब कोहि पनि उम्मेदवारले आफ्नो दाबी पेश गर्दा शुल्क तिर्नुपर्दैन ।
नेपाली काँग्रेसले ७ वटै प्रदेश कार्यसमिति, ७७ वटै जिल्ला कार्यसमिति, १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई गरिएको परिपत्रमा उम्मेदवारको नाम सिफरिस गर्दा कुनै प्रकारको रकम माग नगर्न/नउठाउन निर्देशन दिइएको छ।
यही भदौ १८ भित्र उम्मेदवार सिफारिस गरिसक्न काँग्रेसको निर्देशन छ । अहिले देशभर उम्मेदवार हुनेको दौडादौड चलेको छ ।