काठमाडौंमा बालेनभन्दा बढी लोकप्रिय उम्मेदवार उठाउँछौं: प्रचण्ड
काठमाडौं, १३ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादीले पार्टीका नेताभन्दा ‘लोकप्रिय मान्छे’ खोजेर काठमाडौंमा उम्मदेवार उठाउने भएको छ ।

यसको खुलासा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले गरेका छन् । काठमाडौंबाट माओवादीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पूर्व मुख्यसचिव लीलामणि पौडेललगायतलाई टिकट दिने अनुमान गरिएको बेला प्रचण्डको यो खुलासा बाहिर आएको हो । यद्यपि कुलमान घिसिङको आधिकारिक धारणा आउन बाँकी छ ।

काठमाडौं उपत्यकामा अहिले काठमाडौका मेयर बालेन साह भन्दा पनि लोकप्रिय र नयाँ-नयाँ अनुहारलाई चुनाव लडाउने भन्दै अध्यक्ष प्रचण्डले चुनाव भनेको सेन्टिमेन्ट पनि भएकोले बालेन साहले भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपायको खोजी भइरहेको बताए ।
चुनावी रिजल्ट राम्रो निकाल्न र पार्टीको अवस्था सुधार्न उम्मेदवार पनि नयाँनयाँ ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो । ‘अहिले हामीसङग भएका र टिकटको लागि चलखेल गरेकाले जित्ने स्थिति त्यति देखिएन’, प्रचण्डले भने- ‘निर्वाचन भनेको सेन्टिमेन्ट पनि रहेछ, बालेनले त्यही सेन्टिमेन्टले जितेका हुन र हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्देछौं ।’
उनले कसैले पनि सोच्दै नसोचेको मान्छे ल्याउने विचार आफ्नो मनमा उठिरहेको भन्दै केही लोकप्रिय मान्छेलाई कुराकानी गरिरहेको सङ्केत समेत गरे ।