केन्यासँग नेपालको लज्जास्पद हार

काठमाडौं, १३ भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले केन्यासँगको टी-२०आई श्रृंखलाअन्तर्गत चौथो खेलमा हार व्यहोरेको छ । सोमबार भएको खेलमा केन्याले नेपाललाई ७ रनले हराएको हो ।

१०२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले लज्जास्पद ब्याटिङ प्रदर्शन गर्दै २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

केन्याका राकेप पटेलले ३ विकेट लिए भने एलिजाह ओटिनो, भ्राज पटेल र सेम एन्गोचेले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनायो । लुकास ओलोचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स ओबुयाले २० रनको योगदान दिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा केवल ९ रन खर्चिएर ५ विकेट लिए । टी-२०आईमा पाँच विकेट पहिलोपटक लिएका हुन् । त्यसैगरी आदिल अन्सारीले २ विकेट लिए भने साहब आलम र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

योसँगै पाँच खेलको श्रृंखला २-२ को बराबरीमा पुगेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय