नवीनको आँखाले देखेको स्वच्छ राजनीति र समृद्ध देश
प्रतिक भट्टदेश विकास भयो भने समृद्धि आउँछ, समृद्ध देशभित्र जनता सुखी हुन्छन् । राजनीतिक दलहरूले भन्ने गरेको समृद्धि र विकासको लागि पनि स्वच्छ राजनीति र इमानदार नेता कार्यकर्ता हुनैपर्छ । जनतालाई अनेक सपना बाँड्ने तर, आफू इमानदार नहुने हो भने कुनैपनि राजनीतिक दलको नेताकार्यकर्ताले अब जनताको मन जित्न कठिन छ ।
जनताको मन जित्न अब हावादारी कुरा होइन, जनताले अनुभुति गर्ने गरी देश विकासको खाका र राजनीतिक भविष्यको सुन्दर नक्सा बनाउन सक्नुपर्छ । जसले जनताको मन जित्नेगरी काम गर्छ वा नयाँ भिजन सहित विश्वास जित्नसक्छ उसैलाई जनताले नेता मान्छन् । म जेल बसेर आएको, पन्चायतले यातना दिएको, युद्धमा परिवार गुमाएको, पार्टीभित्र अन्यायमा परेको भन्ने आधारमा अब नेता हुने अवस्था छैन ।
जनताको गुनासो सुन्ने, विकास बुझेको, बदलिँदो समाजको आवश्यकता जानेको र निस्वार्थ भावनाले केही गर्छु भन्ने अठोट लिएको व्यक्ति मात्रै अब प्रतिनिधिसभा र प्रदेशसभामा पुगेको जनताले हेर्न चाहेका छन् ।
जनताको सुख/दु:खमा साथ दिने अनि विकास र समृद्धिको लागि निस्वार्थ राजनीति गर्छु भन्ने युवालाई अवसर दिनुपर्ने आवाज सबै राजनीतिक पार्टीमा उठिरहेको बेला एकजना युवाले आफ्ना केही योजनाहरु सहित आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्बाचनमा काठमाडौ क्षेत्र नम्बर-३ (क) बाट समानुपातिकमा दाबी गरेका छन् ।
समकालीन राजनीति गरेका धेरै जसो साथीहरूले कुनै न कुनै ठाउँमा अवसर पाएको र आफुले पनि यसपटक बागमती प्रदेश सभामा समानुपातिक उम्मेदवारको रुपमा दावी गरेको बताउने ती युवा हुन काठमाडौ-६ बौद्ध निवासी नवीन बज्र लामा ।
नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नम्बर-३ का क्षेत्रीय सदस्य रहेका लामा नेपाल आदिवासी जनजाति संघ, बौद्ध इकाइका अध्यक्ष पनि हुन् । शिक्षा क्षेत्रमा लामो अनुभव भएका नवीनबज्र लामा विभिन्न सामाजिक र धार्मिक संस्थासङ्ग पनि आबद्ध छन् ।
नेपालको विकासमा शिक्षा,स्वास्थ र पर्यटनलाई मुख्य आधार बनाउन सकिने धारणा राख्ने नवीनले अध्ययनको लागि बिदेश बस्दा पर्यटनले कसरी देशको आर्थिक समृद्धि र बिकासमा सघाउ पुग्छ भन्ने कुरा राम्रोसँग बुझेका छन् । आफु बौद्ध निवासी भएका कारण र बौद्ध राम्रो पर्यटकीय क्षेत्र भएकोले पनि पर्यटनलाई नजिकैबाट नियालेको उनी बताउँछन् । ‘मेरो विचारमा बौद्धसङ्गै प्रदेश र सिङ्गो देशको विकासको मुख्य आधार पर्यटनलाई बनाउन सकिन्छ र बनाउनुपर्छ’, नवीनले योजना सुनाए- ‘प्रकृतिले दिएको कयौं सुन्दर दृश्य, हिमाल, नदी, पहाड र विभिन्न शक्तिपिठ मठ-मन्दीर गुम्बालाई व्यवस्थित गरि विश्वमा प्रचार गर्न सक्दा मात्रै पनि छिटो देश धनी र जनता सुखी बन्न सक्छन् ।’
२०४६ सालको आन्दोलन पश्चात् राजनीतिमा आवबद्ध नवीन केही समय विदेशमा अध्ययन गरेर नेपाल फर्केपछि लगातार नेपाली काङ्ग्रेसको राजनीति गरिरहेका छन् । राजनीति सङ्गै विभिन्न सामाजिक संस्थामा पनि उनी आबद्ध छन् । लायन्स डिस्ट्रीक ३२५ (इ) चेयर पर्सन रहेका नवीनले श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको कार्यकारी निर्देशक भएर चलाएको अनुभव लिएका छन् ।
यो सङ्गै व्यावसायिक क्षेत्रमा कुमारी इन्जिनियरीङ कलेजको संस्थापक तथा हालको सल्लाहकार र बज्र बल क्याफेको संचालक पनि हुन उनी । त्यसैले अब निस्वार्थ भावनाले राजनीति मार्फत समाज र राष्ट्रको सेवा गर्ने उनको योजना छ । उनीसङ्गै राजनीतिमा सक्रिय भएका साथीहरू कुनै न कुनै ठाउँमा अवसर पाएर अगाडि बढेको र आफू त्यसमा खुसी भएको सुनाउने नवीन भन्छन्- ‘अहिलेसम्म मैले कुनै अवसरका लागि दाबी गरिन, अब मलाई मेरो पार्टी र साथीहरूले नै अगाडी बढाउँछ्न् भन्ने विश्वास छ ।’
नवीनको कुरा सुन्दा उनको दाबी पनि अस्वभाविक लाग्दैन । उनी आफ्नो ज्ञान, सीप र क्षमतालाई पार्टीले अवसर दिएमा बागमती प्रदेश सभामा काठमाडौ क्षेत्र नम्बर-३को (क) बाट समानुपातिक उम्मेदवार बन्न चाहन्छन् । ‘मेरो दाबी यति मात्रै हो कि म आफ्नो सम्पुर्ण अनुभव र क्षमता प्रयोग गरेर जनताको समर्थन बटुल्ने र पार्टीकै प्रतिष्ठा बढाउन चाहन्छु”-नवीनले परेवान्युजसङ्ग भने- ‘एकपटक अवसर लिएपछि त्यही ठाउँमा म दोस्रोपटक दाबी पनि गर्दिन र अर्को साथीको लागि मार्गप्रशस्त गर्छु ।’
उनले पार्टीको अहित हुने र जनताको नजरमा नराम्रो हुने काम कहिल्यै नगर्ने भन्दै यसपटक प्रदेशको समानुपातिक पदको लागि आफु इच्छुक पनि र योग्य पनि रहेको बताए । आफुले विदेशमा बसेर अध्ययन गरेको र त्यो शिक्षालाई आफ्नै ठाउँमा स्कुल र इन्जिनियरीङ कलेज खोलेर सदुपयोग गरेको भन्दै पर्यटनबाट पनि कसरी विकास हासिल गर्न सकिन्छ भन्ने थुप्रै अनुभव र उदाहरण आफूसङ्ग भएको बताए ।
‘पर्यटकीय क्षेत्रमा लगानी बढाउने र धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउने योजना मसङ्ग छ’, उनले भने- ‘पर्यटनको विकास र त्यसबाट देशलाई समृद्ध बनाउन योजना धेरै कुराको सहकार्य र समन्वय आवश्यक हुन्छ, त्यो म ढुक्कसँग पूरा गर्न सक्छु ।’