बालेनको पक्षमा काँग्रेस नेता भण्डारीले भने- बालेन ! गो अहेड !!
काठमाडौं, ११ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरबाट एकखाले स्वीकृती लिएर अर्कै प्रयोजनमा लगाउने र स्वीकृति नै नलिइ भवन बनाउने विरुद्ध डोजर चलाउन थालेपछि त्यसको समर्थन र विरोधको स्वर सुनिन थालेको छ ।

मेयर बालेन्द्र शाह (बालेन)को कामको विरोधभन्दा समर्थन धेरै छ । तर, एमाले नेता महेश बस्नेत र काङ्ग्रेस नेता मीन विश्वकर्मालर बालेनको विरोध गरिरहँदा धेरैले बालेनको कामलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग दाँजेर समेत हेर्न थालेका छन् ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौको बाटो फराकिलो बनाउन यस्तै डोजर अभियान चलेको थियो ।
मेयर बालेनको समर्थन गर्दै काङ्ग्रेस महासमिति सदस्य तथा युवा नेता हरिबोल भन्डारीले सामाजिक सन्जालमा लेखेका छन्- ‘बालेन ! गो अ हेड !!’
नेपाली काँग्रेसका नेता भण्डारीले फेसबुकमा पोस्ट गर्दै भनेका छन्-‘काठमाण्डौ उपत्यका शहरी बिकासको चापसंगै थपिएको भौतिक सुबिधाले अस्तब्यस्त बनाएको काठमाण्डौ शहरलाई स्मार्ट सिटीको रुपमा बिकसित गर्न बि.सं. २०५८ सालमा देउवा नेतृत्वको सरकारले नै दीर्घकालिन योजना सहित आफ्नो कामहरु अघि बढाएको थियो। तत्कालिन राजा ज्ञानेन्द्रको उच्च सत्ता महत्कॉंक्षाको कारण उनले जननिर्वाचित देउवा सरकारलाई असंबैधानिक तरिकाले बि.सं. २०५९ साल असोज १८ मा बिघटन गर्दा देश बिकासको गतिमा रोक लाग्यो।
बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि ०५८ को देउवा सरकारको कामलाई निरन्तरता दिंदै बाटाहरु फराकिलो बनाउने काम भयो। राजनीतिक किंचलो, अस्थिरता जस्ता कुराहरुले संधै ओझेलमा परेको स्मार्ट सिटी बनाउने देउवा सरकारको पुरानो नीतिलाई बर्तमान मेयर बालेन्द्रले पुनः देउवा नै प्रधानमन्त्री भएकै बेला प्रार्थमिकता दिएर द्रुत गतिमा कामहरु अगाडी बढाउँदैछन्।’