नेतासँग होइन जनतासँग नजिक हुन राजनीतिमा अगाडि बढ्दै पविन भट्ट

देवी पोखरेल

नेपालमा राजनीति गर्न सजिलो छ भन्ने धेरैले ठानेका छन् । अझ राजनीतिमा लागेपछि पद, पैसा र पावर छिटो हात लाग्छ भन्ने बुझाइ पनि छ ।

एकथरीको बुझाइ पद, पैसा र पावर भए सबै आफ्नो मुठ्ठीमा हुनसक्छ भन्ने छ भने अर्कोथरीको बुझाइ नेता चिनेपछि वा नेताको आफन्त भएपछि यी सबै (पद,पैसा र पावर) प्राप्त गर्न झन् सजिलो हुन्छ भन्ने छ । तर, अहिले यही सोचका कारण नेपालको राजनीति र राजनीतिक दलका नेताकार्यकर्तालाई जनताले त्यति धेरै विश्वास र भरोसा गर्दैनन् ।

जनताको विश्वास र कार्यकर्ताको मन जितेर गरिने राजनीति सफल र दिगो हुने बुझाइ केही नेतामा देखिन्छ । उनीहरुले राजनीतिलाई भर्‍याङ बनाएर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गरेका पनि छैनन् र गर्न पनि चाहन्नन । संयोग नै भनौं यस्तै स्वभावका एक युवालाई हामीले भेट्टायौं ।

काठमाडौं-६ महांकाल निवासी युवा व्यवसायी तथा राजनीतिक व्यक्तित्व पविन भट्टको सोचाइ र काम गराइ ठ्याक्कै यस्तै छ । आफ्नो व्यवसाय र नेपाली काँग्रेस पार्टीको राजनीतिलाई उनले सँगै लिएर हिँड्न सकेका छन् । सरल व्यवहार र नम्र अनि मिजासिलो बोलीका कारण पनि उनलाई व्यवसाय र राजनीतिमा असल व्यक्तिको परिचय दिएको छ । हामीले भेटेका उनका साथीहरूले पनि भट्टलाई भद्र, सरल र शालिन नै भन्छन् ।

– पविन भट्ट

विगत १५ वर्षदेखि कन्स्ट्रक्सन व्यवसाय गर्दै आएका भट्ट राजनीति र व्यवसाय बाट बचेको समय सामाजिक काममा पनि व्यस्त हुन्छन् । पानीपोखरी युवा क्लब, रेडक्रस लगायत सामाजिक संस्थामा आबद्ध भट्ट नेपाल तरुण दलको काठमाडौं-६ को अध्यक्ष तथा क्षेत्र नम्बर-३ को उपाध्यक्ष हुन् । तरुण दलसँगै नेपाली काँग्रेस पार्टीमा पनि उनी दुई मुख्य जिम्मेवारीमा छन् ।

पहिलोः उनी काठमाडौ क्षेत्र नम्बर-३ प्रदेश (क) को उपसभापति र दोस्रोः पार्टी केन्द्रीय विभागअन्तर्गत नीति निर्माण उपसमितिको सदस्य । नेपाली काँग्रेस पार्टीमा बढी समय दिएर व्यवसायलाई पनि निरन्तरता दिदै गरेका पविनले पछिल्लो समय व्यवसायलाई घटाउँदै पार्टीमै अझै सक्रिय हुने योजना बनाएका छन् ।

यति धेरै जिम्मेवारी र मुख्य ठाउँमा भएर पनि उनी यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकटको दाबेदार छैनन् । ‘अहिले म आकांक्षी होइन, यो बेला योग्य साथीलाई समर्थन गर्ने हो’, उनले भने- ‘जनताको मन जित्ने साथीहरूलाई अगाडि बढाउने हो । जसले जनताको मन जितेको छ, उसले चुनाव पनि जित्छ त्यसैले मेरो दायित्व साथीहरूलाई जिताउने हुनेछ’ ।

पार्टीमा लागेका सबै साथीहरू क्षमतावान् रहेको, टिकटको लागि योग्य रहेको भएपनि नेपाली काँग्रेसको जुन सिद्धान्त र विचार छ त्यसलाई जनता सम्म पुर्‍याउने, जनताको काम गरेर मन जितेको र नेताको घरभन्दा जनताको दु:ख बुझ्‍न जनताको दैलोमा पुग्ने साथीहरूलाई अगाडि बढाउनुपर्ने उनको जोड छ । ‘हाम्रो पार्टीमा सबै अग्रज नेता र जिम्मेवार साथीहरू टिकटको लागि योग्य हुनुहुन्छ’, पविन भन्छन्- ‘तर, पद थोरै भएपछि त्यहाँ जाने साथी थोरै हुनु स्वभाविक हो । धेरैमध्ये थोरैले अवसर पाउँदा अर्को साथीले चित्त दुखाउन भएन पालो कुर्न सक्नुपर्छ’ ।

यही मान्यता बोकेर अगाडि बढेका पविनलाई यसपटक चुनावको टिकट वितरण गर्दा पार्टीले नेतामुखी र नेताका आफन्तलाई भन्दा जनताको दु:ख बुझ्ने, कार्यकर्ताको संरक्षण गर्ने र पार्टीको विचार अनि सिद्धान्त र अनुशासन पालना गर्नेलाई रोज्नुपर्ने बताउँछन् । ‘राजनीति गर्ने मान्छे विकासमुखी, सामाजिक र धार्मिक हिसाबले जनतासँग प्रत्यक्ष जोडिएको हुनुपर्छ’, उनी भन्छन्- ‘पार्टीले पनि टिकट दिँदा वा अन्य अवसर दिँदा नातावाद र कृपावाद अन्त्य गर्नुपर्छ’ ।

नेताले आफ्नो दैलोमा आउनेलाई मात्रै हेर्न थाल्ने हो भने र नजिकका आफन्त वा परिवारका सदस्यलाई मात्रै च्याप्‍ने हो भने युवामा राजनीतिप्रति आकर्षण होइन विकर्षण हुन सक्छ र स्वतन्त्रको नाममा साथीहरू बाहिर जानसक्ने उनको तर्क छ । जनतासँग नजिक भएकालाइ भन्दा आफुसँग नजिक भएकालाई टिकट दिने परिपाटी यसपटक नहुनेमा आफू आशावादी रहेको पनि उनले सुनाए । आफुले भेटेको बेलामा नेताहरूलाई यो बिषयमा जानकारी गराएको भट्टले बताए ।

कुन व्यक्तिले जित्‍न सक्छ र को जनतामा लोकप्रिय छ भन्ने कुरा पार्टीलाई जानकारी भइसकेको उनको बुझाइ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय