शिक्षा, स्वास्थ र पर्यटनलाई राजनीतिसँग जोड्दै डा. सुन्दरसिंह बोहरा
प्रतिक भट्टनेपाली राजनीतिमा धेरैले चासो राख्छन् । राजनीतिमा चासो राख्नु र फिल्डमा उत्रेर राजनीति गर्नु फरक कुरा हो । चासो राख्नेलाई कुनै चुनौति वा दबाब हुँदैन । तर, राजनीति गर्छु भनेर फिल्डमा उत्रनेले धेरै चुनौतिको सामना गर्नुपर्ने हुन्छ । चुनौतिलाई स्वीकार गरेर अघी बढ्ने व्यक्ति सफल पनि हुने गरेको प्रशस्त उदाहरण छन् ।
यस्तै चुनौति स्वीकार गरी जनताको बीचमा गएर राजनीति अगाडी बढाउँछु भन्ने दृढताको साथ अगाडि बढ्दै छन् काठमाडौं- ६, पाटीटार निवासी डा. सुन्दरसिंह बोहरा । २०४८ सालदेखि घरकै राजनीतिक माहोलबाट नेपाली राजनीतिको पाठशालामा होमिएका बोहरा अहिले काठमाडौं क्षेत्र नम्बर-३ को प्रदेश (क) बाट जनताको प्रतिनिधि बन्ने दौडमा छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन नेपाली काँग्रेसको तर्फबाट सो क्षेत्रमा दाबी गर्ने उम्मेदवारमध्ये डा. बोहरा पनि छन् । घरकै माइलो दाजु भरतसिंह बोहराको काँग्रेस राजनीतिबाट प्रभावित भएर अगाडि बढेका सुन्दर राजनीतिसँगै अध्यापन पेशामा संलग्न छन् । उनले एमबिए अध्य्यनरत विद्यार्थीलाई अध्यापनसँगै विभिन्न तालिम र स्रोतव्यक्तिको रुपमा समेत कार्यरत छन् । देशका ठुला कमर्सियल बैंकमा नेतृत्व विकाससम्बन्धी तालिम दिने र विभिन्न ठाउँमा स्रोत व्यक्तिको रुपमा उनले १० हजार भन्दा बढीलाई सक्षम बनाइसकेका छन् ।
नेपाली काँग्रेसबाट स्व. कृष्णप्रसाद भट्टराई चुनाव लड्दा बोहरा उक्त चुनाव प्रचारप्रसार उपसमितिको कार्यालयमा रहेर काम गर्थे । नेपाली काँग्रेसको १२औं महाधिवेशनमा निर्वाचन समितिमा रहेर उनले अग्रज र दाजुभाइ दिदिबहिनीलाई अगाडि बढ्न मार्ग प्रसस्त गरे । त्यतिबेला काँग्रेस नेताहरु दमननाथ ढुङ्गाना, अम्बिका बस्नेत लगायतको चुनावमा पनि उनी खटेर काम गरेको बताउँछन् ।
पार्टीको १४औं महाधिवेशनमा वडाको संयोजक,प्रदेश (क), क्षेत्रको र जिल्ला अनि महानगरको हरेक ठाउँमा उनले पार्टीलाई सघाए । काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार सिर्जना सिंहको चुनाव प्रचारमा पनि उनले ३२ वटै वडा समन्वय समितिको संयोजक भएर कार्यसम्पादन गरेका थिए । उनी नेपाली काँग्रेस काठमाडौ जिल्ला समिति सदस्यमा पनि लोकप्रिय मतसहित विजयी बनेका थिए ।
राजनीतिसँगै सामाजिक संघसंस्थासँग पनि उनी संलग्न छन् । नयाँबस्ती युवाक्लबको उपाध्यक्ष रहेका बोहरा हाल गोकर्णेश्वर नगरपालिका-५ र काठमाडौं महानगरपालिका-६ मा अझै लोकप्रिय छन् । बसोबासको हिसाबले काठमाडौं-६ बौद्ध स्थित पाटीटारका स्थायीबासी डा.सुन्दरले बागमती सरसफाइ अभियानमामा रहेर ३५० हप्ताको विशेष कामको जिम्मेवारी पनि पूरा गरेका छन् ।
त्यसैगरी भिजिट नेपाल २०२० को सचिवालय हेड भएर नेपाल सरकारको पर्यटन प्रबर्द्धन गर्ने कार्यलाइ पनि उनले सघाएको बताउँछन । विकाससँगै शिक्षा, स्वास्थ्य र पर्यटन देश विकासको मेरुदण्ड हो भन्ने बुझेका डा. सुन्दर राजनीतिमा यी तीनै कुरालाई जोडेर देश विकासको आधार बनाउन सकिने तर्क गर्छन् । ‘हो, मेरो बुझाइ भनेको राजनीति गर्ने व्यक्तिले कम्तिमा देश विकासको खाका र आधार बुझ्नुपर्छ’, उनले परेवान्युजसँग भने- ‘राजनीतिमा अन्य क्षेत्रलाई कोटा छुट्याए जस्तै शिक्षा क्षेत्रलाई पनि कोटा दिएर योग्य व्यक्तिलाई संसदमा पुर्याउनुपर्छ’
जसरी महिला, दलित, जनजाति, मधेसी, पिछडिएको क्षेत्रलाई कोटा दिइन्छ त्यस्तै कोटा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई पनि आरक्षणमा राख्नुपर्छ भन्दै डा. सुन्दरले यस्तै विविध विषयमा संसदमा आवाज पुर्याउन नै आफुले उम्मेदवार बन्न लागेको बताए ।
उनले शिक्षा, स्वास्थ्य र पर्यटनमा दलहरूले बोले जस्तो व्यवहारमा काम गर्न नसकेको भन्दै उनले विषयवस्तुमा पुर्ण ज्ञान नहुनेले पनि उम्मेदवार हुन्छु भनेर दाबी गर्ने कुरा स्वभाविक नहुने बताए । उनि २१ बर्षकै उमेरमा नवज्योती स्कुलको प्रिन्सिपल भएर चलाएको स्मरण गर्दै भन्छन्- ‘शिक्षाको ज्ञान र आफ्नो राजनीतिक अनुभवलाई जनताको कामसँग जोड्न मैले उम्मेदवार बन्न खोजेको हूँ ।’
संसदको सदनमा उभिएर बोल्नुपर्दा कसरी बोल्ने ? बजेट बारे के बोल्ने ? शिक्षाबारे कस्तो धारणा राख्ने र जनताका समस्यालाई प्रदेशमा कसरी राखेर हल गर्ने ? भन्ने कुरा जानकारी हुनुपर्ने उनको तर्क छ । साथै पार्टीभित्र ‘एक व्यक्ति, एक कार्यकाल’को सिद्धान्त लागू हुनुपर्छ भन्ने पनि उनको जोड छ ।
त्यसैले आफुले अहिले प्रदेशको टिकट पाएर नेतृत्वमा पुगेमा त्यही पद एकपटक पाएपछि त्यसैमा दोहोर्याउन नखोज्ने बताए ।