‘द हन्ड्रेड’ क्रिकेटमा ब्रेभको तेस्रो जीत
काठमाडौं, १० भदौ । इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा साउथर्न ब्रेभले तेस्रो जीत निकालेको छ । गएराति भएको खेलमा ब्रेभले ट्रेन्ट रकेट्सलाई ६ विकेटले हराएको हो ।
ट्रेन्टले दिएको १३९ रनको लक्ष्य ब्रेभले ९५ बलमा चार विकेट गुमाएर पूरा गर्यो । एलेक्स डेभिज ५१ रनमा अविजित रहे भने रस ह्वाइट्लीले ३० रन बनाए । ट्रेन्टका साम कुकले २ तथा लेविस ग्रेगरी र लुक वूडले १ १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको ट्रेन्टले निर्धारित १०० बलमा ६ विकेट गुमाएर १३८ रन बनाएको थियो । डेविड मलानले सर्वाधिक ५९ रन बनाएका थिए भने समित पटेलले २१ रन बनाए । ब्रेभका जेम्स फुलर र माइकल होगनले २ २ विकेट लिए भने पल स्टर्लिङ र जेक लिन्टटले १-१ विकेट लिए ।
यस जीतसँगै ब्रेभको ७ खेलबाट ६ अंक भएको छ र छैटौं स्थानमा छ । समान खेल खेल्दा १० अंक रहेको ट्रेन्ट दोस्रोमा छ ।