राजनीतिमा हरेक विषयलाई सम्भव देख्ने हरिबोल
रुद्रप्रसाद भट्टभनिन्छ राजनीतिभित्र सबै नीति पर्दछ । चाहे महाभारतमा हस्तिनापुरको लडाइँ होस वा लङ्कामा राम-रावणको युद्धमा राजनीति घुसेकै थियो । पहिलो र दोस्रो विश्वयुद्धमा होस् वा फक्ल्याण्ड, इराक, इरान, अफगानिस्तान, सिरिया, जापान, कोरिया हुँदै हाल चर्चामा रहेको रुस-युक्रेन युद्धमा पनि राजनीति जोडिएकै छ ।
फरक यत्ति हो त्यहाँ पार्टी-पार्टी बीचको राजनीतिक विचारको युद्धभन्दा शासन व्यवस्थालाई कब्जा गर्ने र आफ्नो साम्राज्य खडा गर्ने अनि शक्तिशाली बन्ने होडबाजी थियो र छ । चाहे नीति होस्, चाहे नेतृत्व यी दुवै कुरा राजनीतिले नै निर्धारण गर्दछ । त्यसैले भन्ने गरिन्छ- ‘नीतिशास्त्रको सर्वोच्च नीति नै राजनीति हो’ ।
यस्तै राजनीतिभित्रको राजनीति अहिले हाम्रो देशमा चलेको छ । यहाँ फरक-फरक पार्टी र फरक सिद्धान्त अनि विचारको बीचमा मात्रै होइन आफ्नै पार्टीभित्र पनि एउटा पक्ष र अर्को पक्ष भन्दै गुटको ‘राजनीति’ चलिरहेको छ । तर, यसरी गरिएको गुटको राजनीतिले सुखद परिणाम दिँदैन । गुटको राजनीतिभन्दा आफ्नै क्षमताले राजनीति गर्ने व्यक्तिले आफू मात्रै बलियो बन्ने होइन पार्टीलाई पनि आन्तरिक रुपमा मजबुत र एकता कायम गर्न सक्दछ ।
यस्तै पार्टीलाई एकता र रुपान्तरण गर्दै जनताको बीचमा मजबुत बनाउन कस्सिएका छन् नेपाली काँग्रेसका युवा नेता हरिबोल भण्डारी । कुनैपनी गुट-उपगुट भन्दा माथी उठेर सिङ्गो नेपाली काँग्रेसलाई बलियो बनाउने उनको अभियान छ । त्यसैले उनी भन्छन्- ‘राजनीतिमा हरेक कुरा सम्भव छ भन्ने म ठान्दछु’।
नेपाल तरुण दलको पुनःस्थापनापछि काठमाडौको संस्थापक जिल्ला सदस्य बनेर राजनीतिक जीवन सुरु गरेका भण्डारी हालका गृहमन्त्री बालकृष्ण खाँण केन्द्रीय अध्यक्ष हुँदा नेपाल तरुण दलको केन्द्रीय सदस्य थिए । तरुण दलमा आबद्ध हुनुअगाडि नै नेपाली काँग्रेस पार्टीमा क्रियाशील रहेका भण्डारी हाल पार्टीको महासमिति सदस्य छन् ।
पार्टी राजनीतिसँगै व्यवसायिक र सामाजिक काममा पनि उत्तिकै सक्रिय भण्डारी यतिबेला चुनावी दौडमा पनि छन् । एउटै व्यक्तिलाई पटकपटक जनता र कार्यकर्तामा पठाउने वा पार्टीले जिम्मेवारी दिने भन्दा पनि जनता र कार्यकर्ताबीचमा नयाँ व्यक्ति पनि परिक्षण हुन जरुरी ठान्ने भण्डारी यसपटकको प्रतिनिधिसभा निर्वाचनमा जनताको बीचमा जान चाहन्छन् । ‘हो म पनि जनताकै बीचमा रहेर पार्टी र जनताको पनि काम गरेको छु, त्यसैले मेरो पनि मुल्यांकन होस् भन्ने चाहन्छु’, परेवान्युजसँगको भेटमा भण्डारीले भने ।
राजनीतिमा पुर्णरुपमा लाग्नुअगाडि व्यवसायिक रुपमा उनी कार्पेट र पस्मिनाको व्यापार पनि गर्दथे । धार्मिक संस्था अनि लायन्स क्लबमा पनि केही समय आबद्ध रहेका भण्डारी खेलकुद क्षेत्रमा भने सुपरिचित नाम हो । उनी अखिल नेपाल फुटबल सङमा केन्द्रीय कोषाध्यक्ष रहेर समेत काम गरे ।
जीवनको उतारचढावसँगै उनी केही समय अमेरिका बसे । तर त्यहाँ पनि उनले आफुलाई नेपाली काँग्रेसको राजनीतिबाट अलग गराउन सकेनन् । उनी नेपाली काँग्रेस समर्थित जनसम्पर्क समिती अमेरिकामा आबद्ध भई विभिन्न पदमा रहेर काम गरे । नेपाल बाहिर रहेका लाखौं युवाहरूलाई उनले जनसम्पर्क समितिमार्फत जोड्ने काम गरे ।
जसको परिणामस्वरुप २०७२ सालको भुकम्प र ०७७/०७८ को कोरोना संकटका बेला विदेशबाट सहयोग जुटाएर नेपालको विभिन्न ठाउँमा पठाउन सफल भए । उनले कोभिड-१९को समयमा स्वास्थ सामग्री वितरण गरे भने भुकम्पको बेला नर्थ फेससँग मिलेर नेपाली काँग्रेस विपद् व्यवस्थापन विभागमार्फत सहयोग जुटाए ।
लोभ, लालच र पापबाट मुक्त हुँदै सबैलाई यही पथमा हिँड्न अभिप्रेरित गर्ने उनको अर्को लक्ष्य पनि छ । यसको मतलब राजनीति गरेर राज्यको सम्पत्तिमा कमाउन र रमाउन उनलाई आवश्यक नै छैन । यतिबेला केही मानिसमा राजनीतिप्रतिको वितृष्णा जाग्नुको एउटा कारण केही व्यक्तिले राजनितीमा लागेर गरेको असभ्य र अशोभनीय कार्य पनि हो भन्ने भण्डारीले भने- ‘खासमा राजनीतिक दल माथिको वितृष्णा हुनुको मुख्य कारण नेताहरुको आत्माकेन्द्रीत सोंचबाट अभिप्रेरित भएर गरिने निर्णय पनि हो ।”
राजनीतिक दललाई भन्दा स्वतन्त्र व्यक्तिमाथि जनताहरुले अभिरुचि राख्न थालेको कारण एउटा यो पनि हो । अर्को कुरा एउटा क्षमताशील र होनहार व्यक्ति राजनीतिमा लाग्दा ५५/६० वर्षको उमेरसम्म पनि कुनै अवसर र जिम्मेवारी नपाउने अनुदार राजनीतिक गतिविधि विरुद्ध पनि आवाज उठ्न थालेको उनको तर्क छ । ‘दलभित्र क्षमतावान् युवालाई अवसर दिन नखोज्दा कहिलेकाँही मतदाताले स्वतन्त्रप्रतिको आकर्षण देखाएको हुनसक्छ, त्यसैले दलभित्रको युवालाई नेतृत्वमा पुर्याउने र अवसर दिएमा स्वतन्त्र भन्ने जमात निष्क्रिय हुनेछ’ ।
हरेक कुरालाई सहज र सरल रुपमा जनता र कार्यकर्तासम्म पुर्याउने अनि जनताको समस्यालाई जनतासँगै बसेर समाधान गर्ने हरिबोलको चाहना छ । यसको लागि सडकदेखि सदनसम्म जनताको समस्या लिएर जाने जनसेवक वा जनप्रतिनिधि बन्ने अभियानमा आफुले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं- ३ बाट उम्मेदवार बन्न चाहेको हरिबोलको भनाइ छ ।
‘हो, यसपटक स्वभाविक रुपमा म पनि एउटा दाबेदार हुनेछु’, हरिबोल भन्छन्- ‘यसको मतलब अरु साथीहरू योग्य हुनुहुन्न र म मात्रै योग्य भन्ने मेरो बुझाइ होइन, पार्टीले पनि मूल्याकंन गर्नुपर्छ र त्यो मुल्यांकन गर्दा मेरो दाबी प्रस्तुत हुनेछ’ ।