पहिलो टी-२० मा नेपालले केन्यालाई हरायो
काठमाडौं, ९ भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले केन्यासँगको टी-२० श्रृंखलाअन्तर्गत पहिलो खेलमा जीत हासिल गरेको छ । बिहिबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।
१३१ रनको विजयी लक्ष्य नेपालले ४ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए भने आरिफ शेख २४ रनमा अविजित रहे ।
ज्ञानेन्द्र मल्लले २३ रन बनाए भने आसिफ शेख १९ रनमा आउट भए । केन्याका लुकास ओलोच र भ्राज पटेलले २-२ विकेट लिँदा नेमिया ओडियाम्बोले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनायो । इरफान करिमले ३४ रन बनाए भने लुकास ओलोचले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ३१ रनमा अविजित रहे ।
नेपालका सोमपाल कामीले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ तथा आदिल आलम र दिपेन्द्रसिंह ऐरीले १-१ विकेट लिएका थिए ।
जीतसँगै नेपालले ५ खेलको श्रृंखलामा १-० को अग्रता लिएको छ ।