रवि लामिछाने चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

काठमाडौं, ९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका केन्द्रीय सभापति रवि लामिछाने चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावमा उठ्ने भएका छन् ।

लामिछानेनिकट स्रोतका अनुसार लामिछानेले यस विषयमा केही दिन भित्रै चितवन पुगेर थप बोल्ने छन् । यसअघि रविले काठमाडौंकै कुनै क्षेत्रबाट चुनाव लड्ने अनुमान गरिएको थियो । रवि आफैंले भने काठमाडौं, चितवन, झापा, डडेल्धुराबाट चुनाव लड्न प्रस्ताव आइरहेको बताएका थिए ।

चितवन क्षेत्र नम्बर-३ माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल चुनाव लड्ने क्षेत्र हो । यो क्षेत्रमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे पनि निर्वाचन लड्ने तयारीमा छन् । राप्रपा र एमाले तालमेल भएमा पाण्डेलाई एमालेको मत थपिने छ ।

चितवन-३ मा एमालेले देवी ज्ञवालीलाई उठाउने चर्चा पनि छ । यही क्षेत्रमा नेपाली काँग्रेस बिपीले पनि छुट्टै उम्मेदवार उठाउने पार्टीका नेता जगन्‍नाथ पौडेलले जानकारी दिए । काँग्रेसले प्रचण्ड पुत्री रेनु दाहाललाई टिकट दिएपछि पौडेल स्वतन्त्र रुपमा भरतपुर महानगर पालिकाको मेयर उम्मेदवार समेत थिए ।

चितवन-३ मा लामिछानेले चुनाव लड्ने र पान्डेले एमाले समर्थन पाउने तथा प्रचण्डले काँग्रेसको समर्थन पाउँदा त्रिपक्षीय भिडन्त हुन सक्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय