सिट बाँडफाँडमा पर्यो सकस; काँग्रेस, माओवादी, एस र जसपाको आआफ्नै दाबी

काँग्रेसलाई १०० चाहिन्छ: गगन, माओवादीलाई ६० नभई हुन्‍न: खनाल, समाजवादीलाई ३० र जसपाको पनि ३० मा दाबी

काठमाडौं, ९ भदौ । निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनलाई सिट बाँडफाँडमा सकस देखिएको छ । खासगरी नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई र वामदेव गौतमको समेत जिम्मेवारी लिएपछि सिट बाँडफाँडको लफडा झन् थपिएको दलहरूले बताएका छन् ।

सिट बाँडफाँडमा बसेका नेताहरूले आ-आफ्ना दलको दाबी राख्दा हाल भएको प्रतिनिधिसभाको १६५ सिटले कसैलाई पुगेको देखिन्‍न । दलहरूको दाबी हेर्दा झन्डै २२२ सिट चाहिन्छ ।

दाबी अनुसार काँग्रेसले १०० सिटमा आफ्नो दाबी गरेको महामन्त्री गगन थापाले बताए । यसैगरी माओवादी केन्द्रले ६० सिटमा दाबी गरेको सो पार्टीका सचिव चक्रपाणी खनालले बताए । अब बाँकी रहेको जम्मा ५ सिटमा एकीकृत समाजवादीले ३० र जसपाले ३० सिट दाबी गरेको छ ।

त्यसैगरी सत्ता गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ । ‘सिटको ठ्याक्कै संख्या म भन्न सक्दिनँ । तर बाबुराम भट्टराई र वामदेव गौतम पनि हाम्रै पार्टीको चुनाव चिह्नमा लड्ने भनेकाले अब माओवादी केन्द्रलाई ६० सिट चाहिन्छ’ माओवादीका सचिव खनालले भने- ‘एमालेसँग मिलेर जाँदा २०७४ मा पनि हामीले ६०–४० को भागबन्डा गरेकै हौं’ ।

छलफलमा समाजवादीका सदस्यले पनि ३० सिट पाउनुपर्ने आधार सहित दाबी प्रस्तुत गरे भने जसपाले ३० मा दाबी तर २० देखि २५ चाहिने बताएको सिट बाँँडफाड कार्यदलमा रहेका एक सदस्यले बताए ।

‘सबैले आ-आफ्ना दावी राखेका छौं, तर छलफलबाट नै टुंगो लगाउछौ’, ती सदस्यले भने- ‘गठबन्धन भनिसकेपछि सबै मलाई मात्रै चाहिन्छ भन्न पनि भएन, सबैले दाबी गरेजति पाउने कुरा पनि भएन नि ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय