निर्वाचनमा १० अर्ब खर्च, एक करोड ३० लाख मत खस्ने अनुमान
काठमाडौं, ९ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न १० अर्बभन्दा बढी खर्च लाग्ने बताएको छ । यो अनुमानित मात्रै भएकोले खर्च अझै बढ्न सक्ने आयोगले स्पष्ट गरेको छ ।
मंसिर ४ को निर्वाचनमा १ करोड ३० लाख मत खस्न सक्ने पनि प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाले बताए । आयोगको तथ्यांकअनुसार यसपटक कुल १ करोड ८२ लाख मतदाता रहेका छन् ।
निर्वाचनमा १० हजार ८ सय २५ मतदानस्थल र २२ हजार ५ सय मतदान केन्द्र हुनेछन् । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले तीव्र रुपमा निर्वाचन सम्बन्धी कार्यहरु अगाडि बढाउँदै तयारी थालेको छ ।
देशको १ सय ६५ क्षेत्रबाट प्रतिनिधिसभा सदस्य र ३ सय ३० क्षेत्रबाट प्रदेश सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा नेपाली काँग्रेस सहित सत्ता साझेदार दलको एउटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित अन्य सानादलको अर्को गठबन्धन बन्ने देखिन्छ ।
हाल सत्ता गठबन्धनमा काँग्रेस सहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, नेपाल समाजादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । त्यसैगरी विपक्षमा नेकपा एमाले, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।
एमालेसँग चुनावी तालमेल गर्न कमल थापा नेतृत्वको राप्रपा नेपाल लगायत आधा दर्जन साना दल ईच्छुक छन् ।