सत्तारुढ दलबीच सिट बाँडफाँडको लफडा !

काठमाडौं, ८ भदौ । सत्तारूढ पाँचदलीय गठबन्धनसँगै पछि थपिएका डा.बाबुराम भट्टराई र वामदेव गौतमको सिट बाँडफाँडमा नयाँ लफडा थपिएको छ । डा.भट्टराई र नेता गौतमबाहेक सत्तामा सहभागी पाँच दलको बैठकमा सिट बाँडफाँड बारे नयाँ उपायमा छलफल सुरु भएको छ ।

त्यो भनेको २०७४ मा काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले जितेका आ-आफ्ना सिटमा आफैं लड्ने र एमाले, लोसपा र राप्रपाले जितेकामध्ये कांग्रेस ६० र अन्यले ४० प्रतिशत लिने गरी मापदण्ड बनाउन लागिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार यो प्रस्तावमा मोटामोटी सहमति पनि भइसकेको छ । तर, काँग्रेसले एकपटक पुनः पार्टीभित्र छलफल गर्ने भनेको छ । यसरी हेर्दा काँग्रेसलाई थप घाटा हुने अवस्था छ । त्यसैले यो प्रस्तावमा काँग्रेसले अलिकति बढाएर मात्रै सहमति जनाउन सक्ने नेपाली काँग्रेसका एक नेताले बताए ।

२०७४ को परिणाम हेर्दा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काँग्रेसका २३, माओवादीका ३६, एकीकृत समाजवादीका १३, जसपाका १० र जनमोर्चाका एक गरी ८३ सिट छन् । गठबन्धनबाहिर एमालेका ६७, लोसपाका १०, नेसपाका दुई, नेमकिपा र राप्रपाका एक/एक तथा स्वतन्त्र एक गरी ८२ सिट छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ सिट छ ।

गठबन्धनका दलहरूले ०७४ मा जितेका आ–आफ्ना सिट राख्दा बाहिरका ८२ सिट बाँड्नुपर्ने हुन्छ । यसमा ६० प्रतिशत काँग्रेसलाई दिँदा ४९ र बाँकी चार दललाई ३३ सिट पर्छन् । यो प्रस्तावमा सहमति जुटे काँग्रेस ७२ र अन्य चार दल ९३ सिटमा चुनाव लड्ने हुन्छ ।

तर, काँग्रेस ०७४ मा गठबन्धनमा रहेका दलहरूले जितेका सबै सिट छाड्न तयार छैन । काँग्रेसले यसैपनि ९९ सिट दाबी गरिरहेको अवस्था छ । त्यसैले सत्ता गठबन्धनका दलहरू बिचको सिट बाँडफाँड अझै केही दिन रस्साकस्सीमै बित्‍ने देखिन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय